काठमाडौं। बलात्कारी बाबाको रुपमा व्यापकता पाएका सिद्धबाबा धरौटीमा रिहा भएका छन्। आफ्नै अनुयायीमाथि यौन दुर्व्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी ३ लाख धरौटीमा रिहा भएका हुन्।

सोमबार जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। गिरीको मुद्दामा सोमबार थुनछेक बहस सकिएसँगै अदालतले उक्त आदेश दिएको हो।

सोमबार प्रतिवादी गिरीका तर्फबाट अधिवक्ता मोहन कोइराला र रूपेश कोइरालाले थुनछेक बहस गरेका थिए। थुनछेक बहस आइतबारदेखि सुरू भएको थियो। गिरीलाई विराटनगरस्थित विराट नर्सिङहोमबाटै एम्बुलेन्समा राखी अदालतमा उपस्थित गराइएको थियो। उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका थिए।

सुनसरीको चतरास्थित आश्रमका गिरीविरुद्ध आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गएको मंसिर १६ गते विराट नर्सिङहोमको ‘आइसीयु’कक्षबाटै पक्राउ गरेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनी विराट नर्सिङहोममा उपचाररत् थिए।
प्रकाशन मिति–२०७६ साल पुस १४ गते सोमवार ।