काठमाडौं। बलिउडका ख्यातिप्राप्त अभिनेता शाहरुख खानले एक पल्ट होइन, तीनपल्ट विवाह गरेको कुरा खुल्न आएको छ। यो बर्षवाट अभिनेता खानको विवाह भएको पनि २७ बर्ष पुगेको छ। २७ बर्ष पुगेको अवसर पारेर किङ खान भनेर चिनिने अभिनेता शाहरूखले आफ्नो विवाह तीनपल्ट भएको भारतीय समाचार माध्यमहरुलाई खुलासा गरेका हुन्।

सन् १९९१ मा शाहरूखले आफू मुस्लिम सम्प्रदायको भएतापनि हिन्दू सम्प्रदायकी गौरी छिब्बरसँग विवाह गरेका थिए। गौरीका लागि शाहरूखको पागलपनको किस्सा अहिले पनि बलिउडमा चर्चा हुने गरेको छ।

सन १९८४ मा एक–अर्कासँग भेटेका शाहरूख र गौरी सात वर्ष रिलेसनमा रहे । त्यसपछि यो जोडीले तीनपटक विवाह गरेको थियो । पहिलोपटक अदालती विवाह गरेको यो जोडीले दोस्रोपटक हिन्दू संस्कारअनुसार र तेस्रोपटक इस्लामिक मान्यताअनुसार विवाह गरेको थियो ।

शाहरूखले विवाह गरेदेखि आजसम्म कहिल्यै गौरीलाई धार्मिक दबाबमा राखेनन् । शाहरूखको घरमा हिन्दू धर्म ग्रन्थ र कुरान एकसाथ राखिने गरिएको छ । यस अर्थमा यो जोडीलाई धार्मिक सहिष्णुताको अनुपम उदाहरणका रूपमा समेत लिने गरिन्छ । गौरी र शाहरूखका आर्यन, सुहाना र अबराम गरी तीन सन्तान छन् । उनीहरूका छोराछोरीले पनि दुवै धर्म मान्ने गरेका छन् ।

शाहरूखले गौरीसँग विवाह गर्दा भने निकै समस्या झेल्नुपरेको थियो । पछिल्लो समय गौरी शाहरूखकी लाइफ पार्टनर मात्रै नभएर बिजनेस पार्टनर पनि बनेकी छिन् । उनीहरू मिलेर रेड चिल्लिज इन्टरटेनमेन्ट र कोलकाता नाइट राइडर्स सञ्चालन गरिरहेका छन् ।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल कात्तिक २० गते मंगलवार ।