काठमाडौं। बलिउडका ख्यातिप्राप्त अभिनेता ऋषि कपुरको ६७ बर्षको उमेरमा दुःखद निधन भएको छ। लामो समयदेखि क्यान्सर पीडित अभिनेता कपुरको आज विहीवार विहान मुम्बईमा निधन भएको हो।

क्यान्सरबाट पीडित ऋषि कपुरलाई अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो। भारतीय समाचार माध्यमका अनुसार, अभिनेता ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो। अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए। फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो।

बुधबारमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो। ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन्। उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए। उनले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गरेका थिए । उनले अन्तिम फिल्म ‘द बडी’मा काम गरेका थिए।

पछिल्लो समय चढ्दो उमेरमा बढ्दो अभिनयको करियर बनाएका ऋषि कपुर सवैको प्रिय अभिनेता थिए। स्वभाविक अभिनयका माहिर अभिनेता ऋषि कपुर लभ्ली हिरोको रुपमा पनि एकताका निक्कै चर्चित थिए।
प्रकाशन मिति–२०७७ साल बैशाख १८ गते विहीवार ।