काठमाडौं। बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। अमिताभले ट्वीट गर्दै आफूमा कोभिड–१९ पोजेटिभ देखिएको बताएका हुन्। कोरोना संक्रमण पुष्टि भएसँगै महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार अमिताभलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। पारिवारको सदस्य र अन्य स्टाफहरुको परीक्षण प्रक्रिया अघि बढिसकेको र नतिजा पर्खाइमा रहेको पनि उनले ट्वीटरमार्फत जनाएका छन्। यसैवीच महानायक अमिताभ बच्चनका पुत्र बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ।

अभिषेक बच्चन पनि अस्पताल भर्ना भएका छन्। महानायक अमिताभ बच्चन पत्नी जया बच्चन तथा अभिषेक पत्नी ऐश्वर्य रायको भने रिपोर्ट नेगेटिभ आएको छ। बाउ र छोरामा कोरोना संक्रमण देखिएपनि सासु र बुहारी भने कोरोना मुक्त देखिएका छन्।

प्रकाशन मिति–२०७७ साल असार २८ गते आइतवार ।