काठमाडौं। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री करिना कपुरको ‘प्रेग्नेन्सी बाइबल’ पुस्तक विवादमा परेको छ। पुस्तकको नाममा बाइबल जोडिएकाले क्रिश्चियन धर्मावलम्बीले यसको विरोध गरेयता विवादमा परेको हो। उनीहरूले पुस्तकको अन्तरवस्तुमा भन्दा पनि शीर्षकमा आपत्ति जनाएका छन्।

भारतीय समाचार माध्यमहरुका अनुसार, महाराष्ट्रको बिड सहरमा रहेको ओमेगा क्रिश्चियन महासंघका अध्यक्ष आशिष सिन्देले करिनासहित दुई जनामाथि धार्मिक भावनामा आघात पारेको भन्दै प्रहरीमा समेत उजुरी दिएका छन्। ‘बाइबल’ शब्दले क्रिश्चियन भावनामा ठेस पुर्‍याएकाले करिना र अदिति शाह भीमजानीमाथि प्रहरीमा उजुरी दिइएको हो। करिना र अदितिद्वारा लिखित ‘प्रेग्नेन्सी बाइबल’ नामक पुस्तक पाँच दिन अघि मात्र सार्वजनिक गरिएको थियो।

ओमेगा क्रिश्चियन महासंघका अध्यक्ष आशिष सिन्देले पुस्तकको शीर्षक बाइबलले इसाई समुदायको भावनामाथि ठेस पुर्‍याएकाले प्रहरीमा उजुरी गरेको बताएका छन्। करिनाले पुस्तकको विषयले गर्भावस्थाको समयको शारीरिक र मानसिक भावनालाई मात्र इंगित गरेको बताउँदै कुनै धर्म र सम्प्रदायको भावनामाथि चोट नपुर्‍याएको बताएकी छन्।

‘गर्भावस्थाको समयमा मैले केही राम्रा र केही नराम्रा अवस्थाको सामना गरें। गर्भवती भएको छोटो समयमा नै म काममा जानका लागि आतुर थिएँ। तर, म आफ्नो वेडबाट उठ्न पनि सक्तिनँथिएँ। यो पुस्तकले मेरो गर्भावस्थाको समयको शारीरिक र मानसिक भावनालाई बताउँछ। यो व्यक्तिगत विवरण मात्रै हो। यसमा कुनै धर्म र सम्प्रदायमाथि चोट पुर्‍याउने काम भएको छैन’, करिनाले भनेकी छन्, ‘कयौं कारणले यो पुस्तक मेरो तेस्रो सन्तान हो।’

४० वर्षीया अभिनेत्री करिनाले गत फेब्रुअरीमा दोस्रो सन्तानलाई जन्म दिएकी थिइन्। करिना ‘लालसिंह चड्डामार्फत रंगीन पर्दामा फर्किंदै छिन्। यस चलचित्रमा उनले आमिर खानसँग स्क्रिन सेयर गर्नेछिन्। यसैगरी करण जोहरको ‘तख्त’मा पनि काम गरिरहेकी छन्।

प्रकाशन मिति–२०७८ साल साउन १ गते शुक्रवार ।