काठमाडौ। भारतीय सिनेमा उद्योग बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री प्रियंका चोपडा विश्वकै १ सय १ शक्तिशाली महिलाको सूचीमा परेकी छन् । बलिउडबाट हलिउडको यात्रामा चुलिएकी यी हट एण्ड सेक्सी अभिनेत्रीलाई विश्व विख्यात ‘फोब्र्स’ पत्रिकाले सार्वजनिक गरेको १ सय १ शक्तिशाली महिलाको सूचीमा ९७ औं स्थानमा परेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार समग्र सूचीमा प्रियंका ९७ औं स्थानमा परे पनि मनोरञ्जन र मिडियाको शक्तिशालीको सूचीमा उनी १५ औं स्थानमा परेकी छन् । प्रियंका हाल अमेरिकामा आफ्नो टेलिभिजन शो ‘क्वान्टिको’को तेस्रो सिजनको सुटिङमा रहेकी छन्। यसबाहेक उनी दुई हलिउड फिल्म ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’मा पनि देखिँदैछिन्।

यसै वर्ष रिलिज भएको हलिउड फिल्म ‘बेवाच’ मा अभिनेता ड्वेन जोनसन द रोकका साथ देखिएकी प्रियंकाले फिल्ममा भिलेनको चरित्र निभाएकी थिइन् । उनी सबैभन्दा बढी कमाई गर्ने टेलिभिजन नायिकाको सूचीमा पनि आठौं स्थानमा परेकी छन् । गत वर्ष उनी यो सूचीमा दशौं स्थानमा थिइन् । उनी गत वर्ष बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने नायिकाको ७ औं स्थानमा थिइन् । यो सूचीमा सामेल उनी बलिउडकी पहिलो नायिका हुन्।

प्रकाशन मिति–२०७४ साल कात्तिक १८ गते शनिवार ।