काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग विहे गर्ने निश्चित गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु लामो समयदेखि अफेयरमा रहेका छन्।

बलिउडका ख्यातिप्राप्त अभिनेता शक्ति कपुरकी छोरी श्रद्धा कपुरले विवाहका लागि परिवारको समेत अनुमति पाइसकेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। श्रद्धाले रोहनसंग चाँडै विवाह गरे उपयुक्त हुने सुझाव समेत परिवारबाट श्रद्धाले पाएको भारतीय सञ्चारमाध्यमका समाचारमा उल्लेख रहेको छ। रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन्।

३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन्। फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए। रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए। उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि सोही क्षेत्रमा स्थापित भए।

रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् । उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् । केही समयअघि श्रद्धाकै आग्रहमा रोहनले फहरान अख्तरसँग काम गर्न अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो।
प्रकाशन मिति–२०७५ साल चैत्र ८ गते शुक्रवार ।