Basantapur Gaddi Baithakकाठमाडौ। परम्परागत रुपमा प्राचिन कालदेखि काठमाडौको ऐतिहासिक बसन्तपुर गद्दी बैठकमुन्तिरको ढुकुटीमा राखिएको २२ हजार थान गरगहना जोखिममा परेको छ। गत बर्ष २०७२ साल बैशाख १२ गते आएको विनाशकारी महाभूकम्पको कारण बसन्तपुर गद्दी बैठक दरबार पूर्ण रुपमा क्षति हुन पुगेको छ।

यसलाई पूर्नरनिर्माणका क्रममा भत्काउने कार्य भैरहेको अवस्थामा बैठकमुन्तिर रहेको ढुकुटीलाई कसैले चासो नदिदा जोखिममा परेको गृह मन्त्रालय समारोह प्रवन्ध फाँटका प्रमुख मणिराम पौडेलको गुनासो रहेको छ। गोरखापत्र दैनिकका अनुसार ढुकुटीमा सुन, हीरा, जवाहरात, देवी देवताका आभूषण, प्रशस्त असर्फी छन्।

प्रमुख पौडेलले भने, ‘ढुकुटीमा रहेका अमूल्य गरगहनाको संरक्षणार्थ पनि गद्दी बैठकको पुनःनिर्माण जतिसक्यो छिटो हुन जरुरी छ। गद्दी बैठकमुन्तिरको सामान्य छिँडीमा थन्क्याइएका यी गरगहना कतै भग्नावशेषमा नपुरिऊन् भन्ने पिरलो छ।’

गुठी संस्थान केन्द्रीय लगत कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार ढुकुटीको साँचो केन्द्रीय लगत कार्यालयमै छ तर ढुकुटीमा लगत कार्यालय एक्लैको पहुँच छैन। आजको गोरखापत्र दैनिकमा समाचार छ।

२०६८ सालमा सेतो मच्छिन्द्रनाथको गहना झिक्ने राख्ने क्रममा ढुकुटी खोलिएयता ढुकुटी सामुन्ने कोही पुगेका छैनन्। उनका अनुसार सरकारका विभिन्न निकायको रोहवर नभई ढुकुटीमा केही गर्न सकिन्न।
प्रकाशन मिति–२०७३ साल माघ १४ गते शुक्रवार ।