नेपालगन्ज। बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटाएको छ। विद्यार्थीको प्रदर्शनका कारण हिजो आइतवार कोहलपुर अशान्त बनेपछि प्रशासनले अपरान्ह तीन बजेबाट बजार क्षेत्रका केही स्थानमा कर्फ्यू जारी गरेको थियो। प्याव्सन र एनप्याव्सनले हिजोको घटनाको बिरोध गर्दै आज सोमबार जिल्लाभरका विद्यालय बन्द गराएका छन्।

बन्दका कारण विद्यालय र बजार ठप्प छन् । सवारी साधन भने निवार्ध रुपमा सञ्चालन भइरहेका छन्। हिजो आइतबार बिहान ट्रकको ठक्करबाट स्कुले छात्रा प्रगति चन्द गम्भीर घाइते भएपछि कोहलपुर तनावग्रस्त बनेको थियो। त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगतिको दुवै खुट्टा काटिएको छ।

उनलाई थप उपचार लागि हिजै काठमाडौं लगिएको छ। प्रगतिलाई ट्रकले ठक्कर दिएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु ट्रकमा आगो लगाउनुका साथै दर्जन बढी सवारी साधन तोडफोड गरेका थिए।
सोही क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने सुशील थापा गम्भीर घाइते भएका थिए।
उनलाई पनि थप उपचारका लागि काठमाडौं लगिएको छ।

अहिले कोहलपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। बालिकालाई ठककर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा राखेर कारवाही अगाडि बढाएको छ।
प्रकाशन मिति–२०७६ साल मंसिर २३ गते सोमवार ।