काठमाडौं। विश्वको बैभवशाली राष्ट्र अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेनको बुधवार शपथग्रहण हुने भएको छ। शपथग्रहणको दिनमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले बृहत अध्यागमन सुधारको प्याकेज सार्वजनिक गर्ने भएको हो।

यो प्रतिबद्धता बाइडेनले जनाएका छन्। आप्रवासीहरुको अत्यन्त आशाको केन्द्र मानिएका नवनिर्वाचित राष्ट्रपति बाइडेनले सार्वजनिक गर्न लागेको भनिएको बृहत अध्यागमन सुधारको प्याकेजले लाखौं कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने वाटो खुल्ने भएको छ।  उक्त प्याकेज अर्थात बिल कार्यान्वयन हुनका लागि अमेरिकाको दुवै संसदका दुबै सदनबाट पारित हुन जरुरी छ।

यो बिल पारित भएमा कहिलेदेखि अमेरिकामा रहेका कागजपत्रविहिनहरु ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनेछन् ? यो प्रश्नको जवाफ धेरैले खोजेका छन्। बाइडेनले समर्थन गर्ने यो बिल पारित भएमा जनवरी १ सम्म अमेरिकामा रहेका कागजपत्रविहिन आप्रवासीहरु यो बाटोबाट ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनेछन् । डाका र टीपीएसले समेटेकाहरु भने आवेदन दिन तत्कालै योग्य हुनेछन्। अरुका लागि थप केही मापदण्डहरु छन् ।

योग्य कागजपत्रविहिनहरुले ५ बर्षपछि अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नेछन् । सामान्यतया अरु व्यक्तिले ग्रिनकार्ड प्राप्त भएको ५ वर्षमा अमेरिकी नागरिकताका लागि आवेदन दिन योग्य हुने भएपनि प्याकेजले समेटेकाहरु भने ३ वर्षमा नै नागरिकताका लागि आवेदन दिन योग्य हुनेछन् । यसरी ग्रिनकार्ड हुँदै नागरिकता प्राप्त गर्दासम्म ८ वर्ष लाग्न सक्नेछ ।

को को योग्य हुनेछन् ?

यो प्याकेजअनुसार ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जानका लागि को को व्यक्ति योग्य हुनेछन् भन्नेबारे अहिलेसम्म स्पष्ट छैन । तर बाल्यकालमा अमेरिका आएका र डाकाले समेटेका कागजपत्रविहिनहरु, टीपीएसले समेटेकाहरु र अत्यावश्यक कामदारहरु यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनसक्ने जनाइएको छ ।

जनवरी १ सम्म अमेरिकामा आइसकेकाहरुलाई बिलले समेट्ने भएकाले सिमाबाट अमेरिका छिर्न अब हतार गर्नेहरुलाई कुनै फाइदा हुनेछैन । निश्चित अवधिभन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनहरु पनि यो प्याकेजअन्तर्गत ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् । त्यसो भएमा जनवरी १ भन्दा अगाडि अमेरिका आएका एसाइलम पेन्डिंग रहेका लगायत सबै कागजपत्रविहिनहरु ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् ।

कुन कुन श्रेणीका अत्यावश्यक कामदारहरु यो प्याकेजमा समेटिनेछन् भन्ने प्याकेजको पूर्ण पाठ सार्वजनिक भएपछि मात्र थाहा हुनेछ । तर अहिले डेमोक्रेटिक सांसदहरुले खेतीपाती र कृषि उत्पादनमा काम गर्ने, मासु उद्योगहरुमा काम गर्ने लगायतलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन् ।

यदि यो प्याकेज पारित भएमा अमेरिकाको इतिहासमा सन् १९८६ यताकै बृहत प्याकेज हुनेछ। सन् १९८६ मा राष्ट्रपति रोनाल्ड रेगनका पालामा अध्यागमन सुधार तथा नियन्त्रण ऐन १९८६ ल्याइएको थियो । उक्त बिलले ३० लाख कागजपत्रविहिनलाई वैद्य स्टाटस प्रदान गरेको थियो ।

को हुन् ११ दशमलव ९ मिलियन कागजपत्रविहिनर ?

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१८ को डिसेम्बरमा निकालेको एउटा तथ्यांकअनुसार अमेरिकामा सन् २०१५ को जनवरी १ अगाडि अमेरिका आएका ११ दशमलव ९६ मिलियन कागजपत्रविहिनहरु रहेका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक सन् २०१५ पछाडिको सार्वजनिक भएको छैन ।

झण्डै ११ मिलियन कागजपत्रविहिनहरुमध्ये झण्डै ५ मिलियन मेक्सिकनहरु रहेका छन्। झण्डै २ मिलियनमध्ये अमेरिकनहरु रहेका छन् भने झण्डै डेढ मिलियन एसियनहरु रहेका छन् । कागजपत्रविहिन ११ मिलियनमध्ये झण्डै दुई तिहाई १० बर्षभन्दा बढी अमेरिकामा बस्दै आएकाहरु छन् । ५ बर्षभन्दा कम समयदेखि अमेरिकामा बसेका कागजपत्रविहिनहरु २० प्रतिशत रहेका छन् ।

झण्डै ८ लाख कागजपत्रविहिनलाई डाकाले समेटेको छ । झण्डै ४ लाखलाई टीपीएसले समेटेको छ । डाकाले समेटेका नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् भने टीपीएसले समेटेकाहरु झण्डै ९ हजार छन्। अध्यागमन अदालतमा एसाइलम पेन्डिंग रहेका नेपालीहरु झण्डै ४ हजार रहेका छन् । यदि बृहत अध्यागमन बिल पारित भएमा अमेरिकामा रहेका २५ हजार भन्दा धेरै नेपालीहरु ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताका लागि योग्य हुनसक्नेछन् ।


प्रकाशन मिति–२०७७ साल माघ ६ गते मंगलवार ।