काठमाडौं। चित्रकविका रुपमा अत्यन्त ख्यातिप्राप्त कलाकार सुरेश कुमार द्यःलाको आयामिक दस्तावेज सत्यम् शिवम् सुन्दरम् नामक चित्रकिताव तथा चित्रको प्रदर्शनी भएको छ। बबरमहल स्थित नेपाल आर्ट काउन्सिलको प्रदर्शनी कक्षमा सोमवारवाट सत्यम् शिवम् सुन्दरमको प्रदर्शनी शुभारम्भ भएको हो।

तन्त्रविधामा आधारित आयामिक सत्यम् शिवम् सुन्दरम चित्रकिताव तथा चित्र प्रदर्शनीको विधिवत रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले विमोचन तथा उदघाटन गरेपछि प्रदर्शनी शुभारम्भ गरिएको थियो। महाभारतकालिन चित्रहरुलाई कलाकार द्यःलाले जीवन्तरुपमा कोरेका छन्। ती चित्रहरुको बयान शव्दका माध्यमवाट कितावमा पनि उल्लेख भएको छ।

लामो समयको अध्ययन तथा गहन अनुसन्धान अनि ठूलै मेहनतवाट तयार पारिएका चित्रकिताव तथा चित्र प्रदर्शनीका क्रममा कलाकार द्यःलाले आफू यति धेरै सक्षम हुनुमा गुरुरुपी महान पित बाबुराजा द्यःला तथा आमा लक्ष्मी द्यःला लगायतका परिवारजनको साथ र सहयोग रहेको भन्दै उनीहरु सवैलाई भारी सभामा नमन गरेर सम्मान व्यक्त गरेका थिए।

कार्यक्रम नेपाल कमर्शियल आर्टिष्ट संघको आयोजनामा भएको थियो। कार्यक्रमका संयोजक प्रेमलाल श्रेष्ठ लगायतले कलाकार द्यःलाका व्यक्तित्व तथा कृतित्वका वारेमा प्रकाश पारेका थिए। कार्यक्रममा सुप्रसिद्ध कलाकार मदन चित्रकारलाई विशेष सम्मान प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७९ साल भाद्र ७ गते मंगलवार ।