काठमाडौं। बागमती प्रदेशको सञ्चार रजिष्ट्रार कार्यालयले सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक स्थापना गरेको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम शुक्रबार प्रदेशको राजधानी हेटौडामा आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजयक्रान्ति शाक्यले उदघाटन गरेपछि सूचना बैंक स्थापना भएर संचालनमा आएको हो।

बागमती प्रदेशको सूचना बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट अव पाउन सक्ने बनाइएको छ।

‘नेपालमा पहिलो पटक बागमती प्रदेशमा सूचना बैठक सञ्चालनमा आउन सक्नु गर्वको बिषय हो । अहिले १४ वटा कार्यालयको सूचना सूचना बैंकमा आउनेछ। बागमती प्रदेशका ११९ वटै स्थानीय तहका सूचना आउने सक्ने गरी बनाउन सकिनेछ। सूचना बैंकलाई व्यवस्थित गर्न निर्देशक समितिले निर्देशन दिनेछ’ सूचना बैंकको उदघाटन गरेपछि मन्त्री डा.शाक्यले भने ‘अव बागमती प्रदेशको सूचना पाउन कतै भौतारिनु पर्दैन,सूचना बैंकमा सर्च गर्दा हुन्छ । बागमती प्रदेशले सूचना प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको यो एउटा गतिलो उदाहरण हो।’

मन्त्री डा.शाक्यका अनुसार मन्त्रालयले बागमती प्रदेशका सबै ऐन कानून एपमा राखेर चाँडै ल्याउने गृहकार्य गरिरहेको छ । ‘त्यसका लागि मन्त्रालय दत्तचित्त भएर लागिरहेको छ’ मन्त्री डा शाक्यको भनाई छ।

टोमेसन सोलुसनले तयार गरेको सूचना बैंकमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय,भौतिक पूर्वाधार बिकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,प्रदेश नीति तथा योजना आयोग, सञ्चार रजिष्ट्रारको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, यातायात पूर्वाधार निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वेवसाइटमा राखिएका सूचना सूचना बैंकमा संग्रहित गराइएको छ ।

सुशासन र पारदर्शीताका लागि सूचना महत्वपूर्ण हुन्छ। यस मर्मलाई आत्मसाथ गर्दै नेपालको संविधानले प्रत्याभुत गरेको बिचार र अभिव्यक्तिको स्वतन्त्रता, सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बर्धन गर्दैस प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ को दफा ५५ बमोजिम यो सूचना बैंक बनेको हो ।

हाल प्रदेशका १४ वटा कार्यालयका वेवसाइटमा राखिएका सूचना तथा अन्य महत्वपुर्ण सामग्री सूचना प्रविधिको प्रयोग मार्फत तत्कालै सूचना बैंकमा संग्रहित हुनेछ । सूचना बैंकमा समेटिएका कार्यालयको सूचनाका लागि सम्बन्धित कार्यालयको वेवसाइटमा नगइकन प्राप्त गर्न सकिनेछ भने सम्बन्धित कार्यालयको वेवसाइटमा पनि सूचना बैंक मार्फत नै पुग्न सकिनेछ।

प्रकाशन मिति–२०७८ साल असोज २३ गते शनिवार ।