ललितपुर। बाजीगर मेयरका रुपमा ख्याति कमाएका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीका लागि कोरोनाको महामारीमा ठूलो राहत घोषणा गरेर अर्को बाजी जित्ने तर्खरमा रहेका छन्।

मेयर महर्जनले कोरोनाभाइरस (कोभिड–१९) का कारण ललितपुर महानगरका स्थायी बासिन्दाको निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेर महानगरवासीको मनवाट फेरि बाजी जितेका हुन्। एक पछि अर्को राम्रो प्याकेज कार्यक्रम ल्याएर उदाहरणिय कार्य गर्न र गराउनमा अग्रसर मेयर महर्जनको यो निर्णयलाई ललितपुर महानगरवासीले दिल खोले तारिफ गरेका छन्।

त्यस्तै आइसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड–१९ जितेकाहरुलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने थप प्याकेज ल्याएर मेयर महर्जनले कोभिड–१९ पीडितहरुलाई ठूलै राहत दिने कार्य गरेका छन्।

महानगरपालिकाले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेको पनि मेयर महर्जनले बताए। वडा नंबर २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुनर्स्थापना गृहमा एचडीयूसहितको ५०शय्याको आइसोलेसन सेन्टर र वडा नंबर ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा १०शय्यााको आइसोलेसन सेन्टर मनोसामाजिक परामर्श, पौष्टिक र सन्तुलित खानाको निःशुल्क व्यवसहित सञ्चालन गरिदैआएको पनि मेयर महर्जनको भनाई छ ।


प्रकाशन मिति–२०७८ साल जेठ २२ गते शनिवार ।