ललितपुर । नेपालका बाजीगर मेयरका रुपमा चर्चित ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन पनि कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणवाट संक्रमित वनेका छन्। ललितपुर महानगरपालिका भित्रका कोरोना संक्रमितहरुको अवस्थाका वारेमा उनीहरुको वासास्थानमा नै पुगेर यथास्थिति बुझेर सहयोग गर्ने कार्यमा अहोरात्र खट्दैआएका मेयर महर्जनलाई कोरोना संक्रमण भएको हो।

संक्रमितहरुको नजिक पुगेर उनीहरुको यथास्थिति बुझ्न हरपल क्रियाशील बन्दैआएका मेयर महर्जनलाई संभवत त्यसक्रममा नै संक्रमण भएको आशंका मेयर महर्जनका शुभेच्छुक तथा स्वालम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्।

मेयर महर्जनको सचिवालयले दिएको जानकारी अनुसार, मेयर महर्जनमा जिउ दुख्ने, टाउको दुख्ने स्वास्थ्य समस्या देखिएपछि स्वाब परीक्षण गरेका मेयर महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो।पाटन अस्पतालमा स्वाब दिएका मेयर महर्जनको रिपोर्टमा कोरोना पोजेटिभ आएको जनाइएको छ। मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन्। यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि कोरोना संक्रमित वनेका थिए। केही दिनको आइसोलेसनमा उपचार गरेपछि मेयर शाक्यले कोरोना जितेका थिए।

आत्मविश्वास तथा आत्मबलका धनी बाजीगर मेयर महर्जनले पनि कोरोना जित्ने उनी निकटवर्ती स्रोतहरुको दावी रहेको छ। मेयर महर्जन मेयरको चुनावताका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई आफू मेयरमा जितेरै छाड्ने बाजी राखेका थिए। हारेमा सारा सम्पति देउवालाई दिने र जितेमा देउवासंग एक हजार रुपैया लिने गजबको बाजी राखेर बाजी जितेका कारण मेयर महर्जनलाई बाजीगर मेयर भनिएको हो।


प्रकाशन मिति–२०७७ साल असोज ९ गते शुक्रवार ।