काठमाडौ। शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न गाविसमा करिब दुई हजारभन्दा बढी घर डुबानमा परेको छ। खडक, खाँडो, महुली, चापिन, सुन्दरी, भलुवाही लगायतका खोलामा आएको बाढीको पानी बस्तीमा पस्दा घर डुबानमा परेको हो।

Saptari Dubanma

बाढीले नदीहरुको बाँध र स्पर भत्काउँदा सकरपुरा, दिघवा, लौनिया, रम्पुरा मल्हनियाँ, देउरी भरुवा, गोबरगाढा, झल्ही, फर्सैठ, बिसहरिया, तिलाठी लगायत डेढ दर्जनभन्दा बढी गाविसको बस्तीमा पानी पसेको छ। बाढीले करिब तीस हजार हेक्टरभन्दा बढी खेतीयोग्य जग्गा जलमग्न भएको छ। जिल्लाको देउरी भरुवा गाविसको पक्की भवनसमेत कटानको जोखिममा परेको छ।

दर्जनौ माछा पोखरीमा बाढीको पानी पस्दा लाखौं रुपैयाँ बराबरको माछा पानीसँगै बगेको छ। प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहन र सुरक्षित स्थानमा सर्नकोलागि तयार रहन सूचना जारी गरेको छन् ।
प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।