काठमाडौं। गत असार र यो साउन महिनाको पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता भैरहेका छन्। बाढीपहिरो र डुबानमा आइतबारसम्म ११७ जनाले ज्यान गुमाएका छन्। दुई दिनयता ४ जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार, यस अवधिमा ४१४ विपद्का घटना भएका छन् । विपद्‌मा ८० जना घाइते भएका थिए।अधिकांश घाइते उपचारपछि घर फर्किएका छन्। केन्द्रले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार बाढीको १३४, पहिरोको २२७ र भारी वर्षाको कारण ५३ घट्ना भएका छन् । बाढीबाट ६१, पहिरोबाट ४७ र भारी वर्षाका कारण नौ जनाले ज्यान गुमाएका छन् ।

बाढीबाट २९ र पहिरोबाट नौ जना हराइरहेका छन्। हालसम्म रु एक अर्ब सात करोडभन्दा बढीको क्षति भएको छ। बाढी र डुबानबाट सबैभन्दा बढी रौतहटमा १० जनाको मृत्यु भएको छ। पहिरोबाट सबैभन्दा बढी गुल्मीमा १४ जनाको ज्यान गएको छ।

डोल्पामा सात जना हराइरहेका छन्। गत असारको २६ देखि ३० गतेसम्म तथा साउनको ७ र ८ गते बाढी, पहिरो र डुबानका घट्ना भएका थिए। विपद्बाट ९० हजारभन्दा बढी परिवार प्रभावित भएका थिए भने २२ हजार ६७० परिवार विस्थापित भएको केन्द्रले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल साउन १२ गते आइतवार ।