काठमाडौं। अविरल वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्गका दर्जनौं स्थान अवरुद्ध भएको छ। धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण सवारी चल्न अवस्था छैनन् ।

चितवनबाट आउने गाडी मुग्लिन नारायणगढ सडक खण्डको चार किलोमा रोकिएका छन्। पोखराबाट आउने गाडी चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनीमा रोकिएका इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

काठमाडौंबाट बाहिरिने गाडी पनि गल्छीसम्म पुगेर रोकिएका छन्। गल्छीको महेशखोलामा ठूलो पहिरो खसेको छ। मुग्लिन नारायणगढ सडकको चार किलोमा ठूलो पहाड नै खसेको छ। अनलाइन खवरका अनुसार, पृथ्वी राजमार्गमा चितवन जिल्लामा दर्जन भन्दा बढी पहिरो खसेको छ। फिस्लिङ बजार वरपर ५–६ वटा र मौवाखोला वरपर पनि ४–५ ठाउँमा पहिरो खसेको छ।

बाढीले धादिङको मोवाखोलामा पुल नै भत्काएर बगाएको छ । काठमाडौं आउँदा चितवनबाट धादिङ प्रवेश गर्ने मोवाखोलाको धादिङतर्फको खण्डमा खोलाले पुल बगाएको हो । मोवाखोलाको बाढीले धादिङ र चितवन दुबै तर्फ केही घरहरु बगाएका छन् । तर मानवीय क्षति भने भएक छैनन्। धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको प्रहरीले जनाएको छ।

धादिङको फुर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काको भनाई रहेको छ। धादिङमा पहिरोका कारण एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । डीएसपी खड्काका अनुसार गजुरी गाउँपालिका– २ मा पहिरोले ६ घरमा क्षति भएको छ, एक जना बेपत्ता र एक जना घाइते भएका छन्। त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक जना घाइते भएका छन्।

यता भक्तपुरमा अविरल वर्षासँगै हनुमन्ते खोलामा पानीको बहाव बढ्दै गएको छ। जसकारण नदी आसपास रहेका घर, विद्यालय, मन्दिर डुबानमा परेका छन्। भर्खरै रोपाई सकेको खेतहरु समेत डुबानमा परेको छन्। पानी परिरहेकोले भक्तपुरका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशन मिति–२०७७ साल साउन ५ गते सोमवार ।