भक्तपुर। बुधवार रातिदेखि परेको अविरल वर्षाका कारण भक्तपुरमा जन–धन दुवै क्षति भएको छ। भक्तपुरको प्रसिद्ध नदी हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश पारेको हो।

राति ३ बजेदेखि भक्तपुरका बस्ती–बस्तीमा पानी पस्न थालेपछि भक्तपुरवासीको निन्द्रा हराम भएको थियो। र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि उनीहरुलाई विपतमा थप आपतै आपत परेको थियो। सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएवाट केही राहत महशुश भएको थियो।

नगरकोट, बागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको स्थानीयको भनाई रहेको छ। हनुमन्तेको बाढीले भक्तपुर नगरपालिकाको जगाते, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौँ घर डुबानमा परेका छन् ।

टहरा र माटोका घरहरु भत्किएका छन् भने जगातीस्थित सिद्धिस्मृति अस्पताल डुबानमा परेको छ। डुबानका कारण अस्पतालको उपचार प्रभावित हुनाका साथै आकस्मिक कक्ष समेत बन्द भएको छ। डा इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको र यन्त्र उपकरणमा क्षति पुगेको छ।

त्यसैगरी, मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पूरै डुबानमा परेको छ। जमीन सतहबाट आठ फिट माथिसम्म पानी आएपछि विशेषगरी भुइँतला घरमा बस्नेहरुको सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उद्धार गरेको थियो। रातिदेखि नै पानी बस्तीमा पसेको थियो भने बिहानीपख बस्तीमा पानीको सतह बढ्दै गएको थियो।

यहाँका बासिन्दाको भुइँतलाको सामानहरुमा क्षति पुगेको छ। बहुतले घरका मानिसबाहिर निस्कन नसक्दा कार्यालय, व्यवसाय र विद्यालय जाने मानिसहरु घरमै रोकिए। भुइँतलासम्म डुबानमा परेपछि त्यहाँका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिएको थियो। सूर्यविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट र कटुञ्जे क्षेत्रमा बाढी पसेर विनाश गरेको छ। कौशल्टार पुलमा बाढीले क्षति गरेको छ भने बालकोट, कौशल्टार, सागबारी, कटुञ्जे क्षेत्रका माटोका भुइँतला घर र टहराहरु बगाएको छ।

गोठहरुसँगै गाई, बंगुर, कुखुरा, बाख्राहरुसमेत पानीले बगाएको छ। बाढीका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति र पशुपक्षीको क्षति भएको तर के कति संख्यामा क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेको प्रहरीले बताएको छ । मध्यपुर अस्पताल, एसएसकलेज, सिबर्ड कलेज, अक्सफोर्ड स्कूल र ग्लोरी स्कूल डुबानमा परेको छ।

बजारसमेत डुबानमा परेकाले सयौ व्यापारीको खाद्यान्न, विद्युतीय सामान र भाटभाटेनी सुपर मार्केटका सामानहरु क्षति भएका छन् । मनोहरा सुकुम्वासी बस्ती पनि पूरै डुबानमा परेको छ। जडीबुटीस्थित मनोहरा खोला किनारामा रहेको सुकुम्वासी बस्ती पूरै डुबानमा पर्दा यहाँका बासिन्दाले राति १ बजेदेखि जागा बस्नु परेको स्थानीयवासीले बताएका छन्।

डुबानका कारण सडकमाथि तीन फिटसम्म पानी बगेपछि मध्यपुरथिमि शंखधरचोकदेखि सूर्यविनायकसम्म बन्द रहेको अरनिको राजमार्ग सात घण्टापछि सञ्चालनमा आएको छ। बिहान ५ देखि बन्द राजमार्ग मध्याह्न १२ बजेपछि सञ्चालनमा आएको थियो। बन्द अवधिभर राजमार्गमा यातायातका साधन रोकिँदा यात्रुहरु अलपत्र परेका थिए।

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ वर्ष ६ महिनाकी सम्पदा लामाको मृत्यु भएको छ। छोरा बुहारी भने पक्कीघरमा बसेकाले जीवित रहेको प्रहरीको भनाइ छ।

राति पहिरोले थिचेर मृत्यु भए पनि परिवारले भने बिहान मात्रै थाहा पाएर शव निकाल्न लगाएको थियो। मृतक तीन जनाको शव भक्तपुर अस्पतालमा राखिएको छ। पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङ्गमा दुई गरी १५ वटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्काए भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ।

बाढीमा कति धनसम्पत्तिको क्षति भयो भन्ने यकिन तथ्यांक केही दिनपछि आउने बताइएको छ । पहिरोमा परेका र बास नभएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले पाल, भाडाकुँडा लगायतका सामग्री वितरण गरेको छ।

प्रकाशन मिति–२०७५ साल असार २८ गते विहीवार ।