काठमाडौं। पंचायतकालमा बामपन्थी मसिहाको रुपमा अत्यन्त चर्चा पाएका जनताको अत्यन्त लोकप्रिय नेता तथा मानव अधिकारवादी पदमरत्न तुलधारको दुःखद निधन भएको छ।

७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो बापन्थी मसिहा पदमरत्नको निधन भएको हो। मष्तिस्कघातका कारण पदमरत्नको मृत्यु भएको अस्पतालले जनाएको छ।

स्वास्थ्यमा गंभीर समस्या उत्पन्न भएपछि पदमरत्नलाई गत कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। पदमरत्नको मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो। नर्भिकमा दुई तीन पटक डायलासिस गरिएको थियो।

नर्भिकमा डा.पंकज जलान,डा.रमेश चोखानी, डा.यादव भट्टलगायतको चिकित्सकको टिमले तुलाधरको स्वास्थ्य जाँच गरेको थियो। आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि पदमरत्नको दुःखद निधन भएको अस्पतालले जनाएको हो।पदमरत्नको पार्थिव शरीरलाई नर्भिक अस्पतालबाट दिउँसो निजी निवास लाजिम्पाट लगिएको छ। पदमरत्नको नेवारी परम्पराअनुसार सोमबार शोभा भगवतीमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक १८ गते आइतवार ।