काठमाडौं। अमेरिकाका अत्यन्त लोकप्रिय पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै व्यापक विक्री भएको छ। अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति बिक्री भएर पहिलो दिनमा नै विक्रीको रेकर्ड कायम गरेको हो।

प्रकाशन गृह पेन्गुइन ऱ्यान्डम हाउसका अनुसार पहिलो दिनको बिक्रीमा अग्रिम अर्डर, इ–बुक र अडियो बुकको संख्यासमेत जोडिएको छ। पहिलो दिनको बिक्रीले आफूहरुले निकै उत्साहित भएको पेन्गुइन ऱ्यान्डम हाउसको सहप्रकाशन समूह क्राउनका डेभिड ड्रेकले बताएको अमेरिकी समाचार माध्यमहरुले जनाएको छ। ओबामाको पुस्तक नोभेम्बर १७ मा सार्वजनिक भएको हो।

यसअघि ओबामा पत्नी मिसेलको संस्मरण ‘बिकमिङ’ पहिलो दिनमा उत्तर अमेरिकामा ७ लाख २५ हजार प्रति बिक्री भएको थियो। सन् २०१८ मा प्रकाशित उक्त पुस्तक अहिलेसम्म विश्वभर गरेर एक करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ। पूर्वराष्ट्रपति बिल क्लिन्टनको संस्मरण ‘माई लाइफ’ पहिलो दिनमा उत्तर अमेरिकामा मात्रै करिब ४ लाख प्रति बिक्री भएको थियो भने जर्ज डब्लू बुसको ‘डिसिजन प्वाइन्ट्स’ झन्डै २ लाख २० हजार प्रति बिक्री भएको थियो।

अहिलेसम्म क्लिन्टनको उक्त पुस्तक ३५ लाख र बुसको संस्मरण करिब ४० लाख बिक्री भएको छ। सार्वजनिक भएको पहिलो दिनमै सबैभन्दा बढी बिक्री हुने पुस्तकचाहिँ जे के रोलिङको ‘ह्यारी पोर्टर एन्ड द डेथ्ली हलोज’ हो। सन् २००७ मा प्रकाशित उक्त पुस्तक पहिलो २४ घण्टामै ८० लाखभन्दा बढी बिक्री भएको थियो।

ओबामाको पुस्तक प्रकाशन नहुँदै चर्चामा आएको थियो । बाराक ओबामा र मिसेल ओबामाको पुस्तक प्रकाशनका लागि क्राउन पब्लिकेसनले करिब ६ करोड डलर तिरेको बताइएको छ। ओबामाले यसअघि नै लेखेका पुस्तक ‘ड्रिम्स फ्रम माई फादर’ र ‘द अडासिटी अफ् होप’ लाखौं प्रति बिक्री भइसकेका छन् ।
प्रकाशन मिति–२०७७ साल मंसीर ४ गते विहीवार ।