काठमाडौं। नेपाल सरकारले बारा र पर्साका हावा–हुरी प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले वर्षायाम सुरु हुनुअघि नै प्रभावितहरुको घर निर्माण सक्नका लागि सेनालाई दिने निर्णय गरेको हो।

घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन्।
प्रभावितहरुको घर निर्माणको सम्पूर्ण खर्च सरकारले बेहोर्ने छ।

तत्कालै बर्खा लाग्ने भएकाले छिटो निर्माण सक्नका लागि सरकारले सेनालाई जिम्मा दिएको हो। बिहीबार बिहान सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले यो विषयमा कुरा गरेका थिए। बिहीबार बिहानको बैठकमै सेनालाई जिम्मेवारी दिनेबारे छलफल भएको थियो । त्यही छलफलको आधारमा साँझको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेका हो। प्रभावितहरुलाई घर निर्माणसहित उपचार खर्च पनि सरकारले नै बेहोर्ने निर्णय यसअघि नै भइसकेको छ । प्रदेश र केन्द्र सरकारले समन्वयात्मक रुपमा प्रभावित क्षेत्रमा पुनर्स्थापना कार्यक्रम समेत सञ्चालन गर्नेछन् ।
प्रकाशन मिति–२०७५ साल चैत्र २१ गते विहीवार ।