ललितपुर । नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका गायक सीताराम पोखरेलले प्रत्येक बर्षको अक्टोबर ४ तारिखका दिन बेग्लै शैलीवाट जन्म दिन मनाउने गरेका छन्। यो बर्षको अक्टोबर ४ तारिख सोमवारका दिन त्यसरी नै बेग्लै शैलीवाट गायक पोखरेलले मनाउने कार्य गरेका हुन्।

हरेक बर्षको अक्टोबर ४ तारिखका दिन घरमा भव्य समारोह नगरिकन कुनै न कुनै बालआश्रम तथा बृद्धाश्रम पुगेर जन्म दिन मनाउने क्रममा यो बर्ष ललितपुरको ताल्छीखेल स्थित स्वच्छ नेपालमा आश्रित असहाय–अनाथ बालबालिकासाथ गायक पोखरेलले जन्मदिन मनाएका छन्।

स्वच्छ नेपालमा रहेका बालबालिकाका साथमा जन्मदिनको केक काटेर जन्मदिन मनाएका गायक पोखरेललाई जन्मदिनको उपहार स्वरुप स्वच्छ नेपालमा आश्रित बालिका रोशनी लोहारले गायक पोखरेलको स्केज चित्र वनाएर तुरुन्ता तुरुन्तै प्रदान गरिदा माहोल नै भावुक बनेको थियो। त्यस्तै, स्वच्छ नेपालकी संस्थापक धन लोहार तमाटाले दियो बालेर फूल–अक्षेता सहित टीका लगाइदिएर जन्मदिनको शुभकामना दिएकी थिइन्।

किराँत कुलका धर्मगुरु नारायण लिंखा देवानले संस्कृतमा स्त्रोत पाठ गरेर शुभआशिर्वाद प्रदान गर्ने कार्य भएको थियो। स्वच्छ नेपालका अध्यक्ष देवराज तमाटा लगायत स्वच्छ नेपालमा आश्रित सवै बालबालिकाले एकसाथ ह्याप्पी बर्थ डे भन्दा गायक पोखरेलको आँखा रसाएका थिए।

यति धेरै आफ्ना मान्छेहरुका साथमा यसरी जन्मदिन मनाउन पाउदा अत्यन्त खुशी र गौरब लागेको प्रतिक्रिया गायक पोखरेलले भिजन संसार डटकमलाई दिएका छन्। जन्म दिनको खुशीयालीमा गायक पोखरेलले स्वच्छ नेपालमा आश्रित बालबालिकाहरुका लागि खाद्यान्न, स्वास्थ्य सामाग्री लगायत सहयोग गर्ने कार्य पनि गरेका थिए।

प्रकाशन मिति–२०७८ साल असोज १८ गते सोमवार ।