काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ मा पहिलो पल्ट बालमैत्री विद्यालय घोषणा भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ धुम्बाराही स्थित धुम्रबराह माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंवर ४ र काठमाडौ जिल्ला बाल क्लव सञ्जालको सहकार्यमा बालमैत्री विद्यालय घोषणा भएको हो।

बालमैत्री विद्यालय घोषाा तथा प्रतिबद्धता समारोहमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले सिकाइको वातावरण नै बालमैत्री वातावरणको मुलसूचक भएको बताएका छन् । उमेरसँगै सिपमूलक शिक्षा समेत आजको आवश्यकता भएको बताउँदै मन्त्री पोखरेलले नयाँ बजेटले ४२ जिल्लामा दिवा खाजाको व्यवस्था, निशुल्क सेनेटरी प्याड उपलव्ध गराउनेलगायत शिक्षामा आमुल परिवर्तनका लागि रणनीतिक कार्ययोजना बनाइ अघि बढेको भनेका छन्।

३ नंबर प्रदेशका सांसद नारायण सिलवालले सम्पूर्ण विद्यालयले बालमैत्री वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए। काठमाडौं महानगरपालिका वडा नंबर ४ कार्यालयको नेतृत्व र काठमाडौं जिल्ला बाल क्लब संजालको समन्वयमा ‘बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप कार्ययोजना २०६७ माथि आवश्यक संशोधन तथा महानगरको शिक्षा ऐनले तोकेको मापदण्ड भित्र रही सूचकहरु निर्धारण गरी ‘बालमैत्री विद्यालय कार्ययोजना २०७५ लागू गरी १ वर्षसम्म उक्त कार्ययोजना भित्र रहेका करिब ११५ वटा सुचकहरुको अनुगमन तथा मुल्याङ्कन गरिएको थियो। बालमैत्री प्रारुप कार्यान्वयन गर्ने काठमाडौं महानगरपालिका वडा नंवर ४ नेपालको नमूना वडाको रुपमा स्थापित हुन समेत सफल भएको छ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री गिरिराजमणी पोखरेल, सांसद नारायण सिलवाल र काठमाडौं महानगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष मोहन बहादुर विष्टले ‘बालमैत्री विद्यालय कार्ययोजना २०७५’ को औपचारिक सार्वजनिक समेत गरेका थिए । समारोहमा न्युनतम सूचक पूरा गर्ने कुल ३० विद्यालयमध्ये २६ वटा विद्यालयलाई बालमैत्री विद्यालयको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो भने चारवटा विद्यालयलाई यस महिनाभित्र न्यूनतम सूचक पूरा गर्ने गरी प्रतिबद्धतापत्र हस्तान्तरण गरिएको जानकारी काठमाडौं जिल्ला बालक्लव सञ्जालका राजाराम बस्नेतले भिजन संसार डटकमलाई दिएका छन्।
प्रकाशन मिति–२०७६ साल जेठ २७ गते सोमवार ।