काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्वाधार निर्माणका क्षेत्रमा भेटिएका कर्मचारी वा ठेक्केदारलाई नागरिकले कुनै सोधपुछ गरे भने मेरो काम होइन भनेर पन्छने गरेको जनगुनासोलाई जस्ताको तस्तै सरोकारवालाहरुलाई भन्न चुकेनन्।

काठमाडौं महानगरपालिकाको सभाकक्षमा एकिकृत पूर्वाधार विकासका लागि भएको समन्वय बैठकमा सरोकारवाला निकायका पदाधिकारीहललाई मेयर साहले जस्ताको तस्तै बताएका हुन्। मेयर साहले विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग ‘अरुलाई दोषी देखाएर जनताका प्रतिनिधि र सरकारी कर्मचारीले पन्छिन मिल्दैन’ भने।

‘जीवन्त सांस्कृतिक सहर काठमाडौँलाई व्यवस्थित गर्न धेरै काम गर्नुपर्नेछ। सबैले प्रयास गरौँ । नतिजा क्रमशः आउनेछ ।’ मेयर साहले, जमिन पुनभरण हुन नपाउँदा चाहिने ठाउँमा पानी नपुगेको, नदीका पानी धेरै भएर बाढी आएकोलगायत वातावरणीय सुधार, सहरी सेवा सुविधाको सहज वितरण तथा पूर्वाधार निर्माणको अन्तरसम्बन्ध मिलाउनु पर्नेमा जोड दिए।

बैठकमा महानगरकी उपमेयर सुनिता डंगोलले, स्थानीय सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन साझेदार कार्यालयबाट सहयोग प्राप्त हुने अपेक्षा गरेकी छन्। ‘समन्वय बैठक प्रभावकारी भएको महसुस गरेकी छु । यसबाट विगतका गल्ती दोहोरिने छैनन र अवस्थामा परिवर्तन आउनेछ भन्ने आशा गर्न सकिन्छ ।’ उपमेयर डंगोलको भनाइ थियो।

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक डा. सुरेन्द्रलाल हाडा, उपनिर्देशक अच्युतानन्द मिश्र, सडक विभागका सुपरिटेण्डेन्ट ईञ्जिनियर डा. विजय जैसी, सडक डिभिजन काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरे, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसहित अधिकारी सहभागी बनेका थिए ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणका निर्देशक श्रीराम राज पाण्डे, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा, उपनिर्देशक चन्द्रकुमार पां श्रेष्ठ, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल, इञ्जिनियर रामबाबु प्रसाद बैठकमा थिए।


छलफलका क्रममा काठमाडौँ उपत्यकामा भएका १९ वटा नदीलाई एउटै कार्यक्रमबाट सुधार गर्नुपर्ने, नदीको वहाव क्षेत्र सम्बन्धी मापदण्डको पालनालाई कडा बनाउनु पर्ने जस्ता विषय उठेका थिए । नदी किनाराको अव्यवस्थित बस्ती व्यवस्थापन सँगै सहरको सरसफाइ र सौन्दर्य बढाउने काममा सबैको साझा मत हुनुपर्र्ने, धुँवा धुलोमुक्त सहरका निर्माणका लागि आफ्नाआफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने, पोलमा असरल्ल तार व्यवस्थापनमा सेवा प्रदायकलाई जिम्मेवार बनाउनु पर्ने, सडक किनारामा यसै छोडिने निर्माण सामग्री छोडेर हिड्न नपाइने जस्ता काममा पूर्वाधार निर्माणमा काम गर्नु पर्ने कार्यालयले ध्यान दिनुपर्ने विषयबाट सुधार देखिनेमा अधिकारीहरुको जोड थियो ।
प्रकाशन मिति–२०७९ साल असार ६ गते सोमवार ।