गोरखा। बिश्व रक्तदाता दिवस जून १४ को पूर्व–सन्ध्यामा गोरखा बजारमा रक्तदान संवन्धी जनचेतनामूलक कार्यक्रम भएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाद्वारा गोरखा बजारमा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा बिश्व रक्तदाता दिवस एक बिबेचना विषयक स्थानीय स्तरमा आयेजित उक्त कार्यक्रमको सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाका उपाध्यक्ष सुरेन लामिछाने (अमृत)ले गरेका थिए।

बिभिन्न संघसंस्थाका प्रतिनिधि र स्वयंसेवी रक्तदाताहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रमले गोरखा जिल्लाभित्र रगत र रगतबाट तयार पारिने रक्त–तत्वहरूको बारेमा थप जानकारी दिने कार्य भएको थियो। त्यस्तैगरेर, नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आगामी दिनमा समयसापेक्ष सम्बन्धित निकायसंग समन्वय गरि जनचेतना जगाउने कार्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला सक्रिय रहने कुरामा पनि जोड दिइएको थियो।

विगत दुई वर्षदेखि रक्त सञ्चार सेवा सञ्चालनको निमित्त दातृ राष्ट्रले अनुदान स्वरूप उपलब्ध गरिएको आवश्यक प्रविधिहरू सञ्चालनमा ल्याउन नसकेर थन्किएर रहेकोलाई समेत सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग आवश्यक पहलकदमी गर्ने कुरामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले थप जोड दिएका थिए।

उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरू मध्येबाट १४ जना स्वयंसेवी रक्तदाताहरूले नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता प्राप्तिका लागि स्थलगत निबेदन समेत पेश गरेका थिए।


प्रकाशन मिति–२०७७ साल फागुन २८ गते शुक्रवार ।