काठमाडौं। आर्थिक अभाव, सामाजिक परम्परा, जनचेतनाको अभाव, अशिक्षा जस्ता कारणले महिलाहरु कम उमेरमै विहे गर्न तथा गर्भ धारण गर्न बाध्य छन्। एक तथ्यांक अनुसार नेपालमा वर्षेनी गर्भवती हुने आठ लाख महिला मध्ये दुई हजारको स्वास्थ्य सेवाको अभावमा मृत्यु हुने गरेको छ।

यसैगरी ३० हजार शिशुको १ महिना नै नपुगी मृत्यु हुने गरेको छ। त्यस्तै ७५प्रतिशत घरमै सुत्केरी हुने गरेको छ। प्रति एक लाखमा २ सय ८९ जना महिलाको मृत्यु प्रसुतिको बेला हुने गरेको छ। कुनै पनि महिलाले २० वर्षमा विहे गरी कम्तिमा २५ वर्ष भित्र पहिलो सन्तान जन्माउनु भनेको आमा तथा बच्चाको स्वास्थ्य संगसंगै अन्य कारणले पनि उपयुक्त हुने चिकित्सकहरु बताउँछन्।

तर, हाम्रो मुलुकमा यो कुरालाई राज्यले प्राथमिकतामा राखेता पनि गरिबी, अशिक्षा, सचेतनाको अभाव जस्ता विविध कारणले गर्दा महिलाहरु २० वर्ष अगावै सन्तान जन्माउन बाध्य छन्। जसलेगर्दा उनीहरु कम उमेरमा नै विभिन्न रोगको शिकार बन्न बाध्य भएका छन् भने अर्कातर्फ जन्मेको शिशुको अकालमै मृत्यु समेत हुने गरेको छ । कम उमेरमै आमा बन्दा अस्वस्थ त भइन्छ नै। संगसंगै विभिन्न किसिमका व्यवहारिक समस्याहरुका कारण महिला थप समस्यामा पर्ने गरेका छन् ।

अझैपनि हाम्रो समाजमा छोरीलाई कलिलो उमेरमा विहे गरिदिएर जिम्मेवारीबाट पन्छिने प्रचलन पूर्ण रुपमा हट्न सकेको छैन। यसरी कम उमेरमा विहे गर्दा छोरी मान्छेको व्यक्तित्व विकासमा असर त परेको छ नै त्यसमा पनि कम उमेरमा सन्तान जन्माउन बाध्य बन्नुपर्दा जन्मिएको शिशुका साथै स्वयंम महिलाको समेत जिवन असुरक्षित बन्नपुगेको छ।

यसै विषयमा निशान बुढाथोकीले ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामासंग कुराकानी गरेकी छन्। जुन यसप्रकार रहेको छ–

कम उमेरमा गर्भवती हुँदा किशोरी महिलामा कस्तो किसिमको असर परेको देख्नुभएको छ ?
–वास्तवमा भन्ने हो भने किशोर अवस्थामा भनेको १० देखि १९ वर्षको अवस्थालाई भनिन्छ। अपरिपक्क उमेरमा अर्थात् कम उमेरमा गर्भ धारण गरेर गर्भ परिक्षण गर्न आउने किशोरी महिलाहरुमा बौद्धिक रुपमा तथा मानसिक रुपमा नै त्रसित अवस्थामा आउने गरेको देखिन्छ। यसरी कम उमेरमा गर्भ धारण गर्दा महिलाका यौनाङहरु पूर्ण रुपमा विकास भइसकेको हुँदैन। जसको कारण शरीरका अरु भागमा समेत असर गरिरहेको हुन्छ।

किशोर अवस्थामा गर्भवती हुँदा प्रजनन् स्वास्थ्यमा कस्तो किसिमको असर पर्छ ?

–मैले अघि पनि भनिसकेको छु । जब प्रजनन् अंग राम्रो संग विकसित भएको हुँदैन त्यस्तो अवस्थामा गर्भ धारण गर्दा त्यस्तो अवस्थामा स्वस्थ शिशु जन्मिने चान्स एकदमै कम हुन्छ । जस्तै तौल कम भएको शिशु जन्मिने, गर्भ खेर जाने , कुपोषित शिशु जन्मिने, शारीरिक रुपमा नै असर पर्ने खालको समस्या देखाउँछ । यो अवस्थामा खासगरी उहाँहरुको हर्मोन भन्छौं, हर्मोनको जुन विकास, प्रजनन् शक्ति वृद्धि गर्नको लागि हर्मोनको विकास परिपक्क र पूर्ण रुपमा नभएको त्यस्तो अवस्थामा गर्भ धारण गर्दा भविष्यमा बाँझोपन पनि हुन सक्छ । किशोरीहरुको स्वास्थ्य प्रणाली अनुसार विवाह नभएको कारण यस्तो खालको समस्या देखा पर्छन् ।

किशोर अवस्थामा गर्भवती हुँदा स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन, संवेदनशिल अवस्था हो भन्दा फरक नपर्ला, यस्तो अवस्थामा कस्तो -कस्तो कुरामा ध्यान दिनुपर्छ ?
–सबैभन्दा पहिला त छोरीहरुलाई शिक्षा प्रदान गर्ने र शिक्षित बनाउनु पर्छ । सन्तुलित भोजन नियमित खाने। धुमपान तथा मद्यपान नगर्ने । गह्रौं भारी नबोक्ने । स्वास्थ्यको नियम अनुसार २० वर्षपछि विहे गरिदिने। र २५ वर्ष भित्र एउटा बच्चा जन्माउने र अर्को बच्चा ३० वर्ष भित्र जन्माउने। कम उमेरमा गर्भधारण गर्नुभएका महिलाहरु हुनुहुन्छ–उहाँहरुले दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीसंग आफ्नो स्वास्थ्य परिक्षण गराउन पनि अनुरोध गर्दछु ।

 सरकारले किशोर अवस्थामा विवाह गर्नेलाई कारवाही पनि गर्छ होइन ?
–सरकारले कानुन ल्याएको छ , तर हाम्रो समाज कस्तो छ भने म मेरो छोराछोरी विहे किन गर्न नपाउने, मेरो अधिकार छैन त ? भन्ने मानसिकताले गर्दा कानुनको राम्रो संग पालना भएको अवस्था छैन । यदि कानुन ल्याउने हो भने त्यसलाई पालना पनि गर्नुपर्छ। जनचेतना मूलक कार्यक्रमहरु ल्याएर पनि किशोर अवस्थामा हुने विहेलाई रोक्नुपर्छ।

 त्यसो भए किशोर अवस्थामा गर्भवती हुनुको कारण के हुन सक्छ ?
–वास्तवमा भन्ने हो भने किशोर अवस्थामा गर्भधारण हुनुको मुख्य कारण भनेको अशिक्षा, जनचेतनाको कमी नै हो। प्रजनन् अंगको राम्रो विकास नभएको अवस्थामा स्वस्थ शिशु कसरी जन्मिन सक्छ होला ? अर्को कुरा परिवर्तित हर्मोनको कारण उत्तेजना आउने, त्यस्तै कुन काम राम्रो कुन काम नराम्रो छुट्याउन नसक्ने हुन्छन् । त्यसकारण कम उमेरमै विहे गर्छन् र गर्भवती हुन्छन् । त्यसकारण कुन ठाउँमा जनचेतनाको कमी छ त्यस्तो ठाउँमा गएर विभिन्न किसिमका चेजनामूलक कार्यक्रम ल्याउने र अनिवार्य रुपमा सहभागि पनि गर्नुपर्छ ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन ३१ गते आइतवार ।