रुपन्देही । तिलोत्तमामा सडकबीचमा राखिएका पाँचवटा बुद्धका मूर्तिहरु तोडफोड भएको छ। बुटवलदेखि तीन किलोमिटरको दूरीमा रहेको तिलोत्तमाा उक्त पाँचवटा बुद्धका मूर्तिहरु तोडफोड भएको हो।

तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले अज्ञात र अराजक समूहले शंकरनगरदेखि नयाँमिलसम्मका बुद्धका मूर्तिहरु तोडफोड गरेको बताएका छन्। नगरपालिकाले घटनाको भर्त्सनासमेत गरेको छ।

बुद्धको जन्मभूमि लुम्बिनी जाने बाटोमा ती बुद्धका मूर्तिहरु राखिएको थियो।तिलोत्तमा नगरपालिकाले योगीगुठीबाट भलबाडीसम्मको सडकमा २२ ओटा बुद्धका मूर्ति गएको वैशाखमा बुद्ध पूर्णिमाको दिन राखेको थियो। बुद्धका मूर्तिहरु तोडफोडको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको र घटनामा संलग्नहरुको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

यसैवीच काठमाडौंमा नेपाली कांग्रेसले भगवान् गौतमबुद्धको मूर्ति तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस संसदीय दलले बिहीबार एक विज्ञप्ति निकाली घटनाको सत्यतथ्य छानबिन र त्यसमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न मागसमेत गरेको छ ।

बुधबार राति रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत् सिद्धार्थ राजमागको बीच भागमा राखिएका बुद्धका मूर्तिहरु तोडफोड गरिएकोप्रति कांग्रेसले आपत्ति जनाएको हो।

‘भगवान् गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्य–मान्यताको अपमान हो’–विज्ञप्तिमा भनिएको छ–‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजितरुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ।’
प्रकाशन मिति–२०७६ साल साउन २ गते विहीवार ।