काठमाडौं । नेपाल सरकारले बुधबार नेपालमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन ६ गते बुधबार इस्लाम धर्मावलम्बीको ठूलो पर्व बकर इदको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निर्णयको वारेमा जानकारी दिएका हुन्।

त्यस्तै, सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले वताएका छन्। सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ।

कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो। मन्त्रिपरिषद्ले खोप उपलब्ध गराउने सम्पूर्ण छिमेकी र मित्रराष्ट्रलाई धन्यवाद दिँदै अनुदान वा खरिबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक र अन्य मित्र राष्ट्रलाई आह्वान गर्ने निर्णय गरेको पनि प्रवक्ता कार्कीले बताए।

त्यसैगरी, केपी शर्मा ओली सरकारले नियुक्त गरेका ११ जना राजदूतको नियुक्तिको निर्णय खारेज गर्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशन मिति–२०७८ साल साउन ४ गते सोमवार ।