काठमाडौं। बुहारीलाई छोरीको रुपमा समान सामाजिक व्यवहार हुनु पर्दछ र गरिनु आवश्यक छ। बुहारीलाई छोरीको दर्जा दिएपछि नै सामाजिक रुपान्तरण भएको मानिन्छ। त्यो सामाजिक रुपान्तरण नेपालकी पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले गरिदिएकी छन्। पूर्वउपसभामुख सुवेदीले एकल भएकी जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएका छन्।

संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहेकी सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीकै रुपमा अन्माएकी हुन्।

विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पमा परेर पूर्व उपसभामुख सुवेदीको छोरा अच्यूतराज सुवेदीको काठमाडौंमा मृत्यु भएको थियो। बसेको होटल भत्किदा च्यापिएर गम्भीर घाइते भएका सुवेदीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। अच्यूतको मृत्यु भएपछि बुहारी मालती एकल भएकी थिइन्।

बुहारीले नै मन पराएको नेपालगञ्जका सुधीर गौतमसँग सुवेदी परिवारले विवाह गरिदिएका हुन् । शनिबार घरपरिवारका सदस्यले आफन्ती तथा केही नेताहरुको उपस्थितिमा मालतीको विवाह गरिदिएका हुन्। यसरी बुहारीलाई छोरी बनाएर विवाह गरिदिने पूर्व उपसभामुख उदाहरणीय नेताको रुपमा यतिखेर चिनिएकी छन्।
प्रकाशन मिति–२०७५ साल मंसीर २ गते आइतवार ।