ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १६ र अरनिको समाजको संयुक्त आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर संपन्न भएको छ। शहरी स्वास्थ्य समस्यालाई मध्यनजर गरेर ६ साताव्यापी भएको बृहत निःशुल्क स्वास्थ्य शिविर अभूतपूर्व सफलतापूर्वक संपन्न भएको हो।

गत माघ १६ गते शनिवार देखि प्रत्येक हप्ताको शनिवार वडा नंबर १६ का विभिन्न स्थानमा स्वास्थ्य शिविरको आयोजना गरेर फागुन २२ गते कृष्ण मन्दिर दरबार स्क्वायर परिसर कात्तिक नाच डबलीमा संपन्न गरिएको जानकारी आयोजक ललितपुर महानगरपालिका वडा नंबर १६ का लोकप्रिय वडा अध्यक्ष निर्मलरत्न शाक्यले दिएका छन्।

वडा अध्यक्ष शाक्यका अनुसार, ६ सयभन्दा बढी वडावासीहरु निःशुल्क स्वास्थ्य शिविरवाट लाभान्वित भएका छन्। जसमा बढी हाड, जोर्नी तथा नशा रोगका विरामीहरुले लाभान्वित भएको र शिविरमा आउने धेरैजसो ज्येष्ठ नागरिकहरु नै भएको वडा अध्यक्ष शाक्यको भनाई छ।

शिविरमा नशा रोग, मधुमेह, पिसाब, पेट तथा कलेजो, स्त्रीरोग र जनरल रोगको जाँच गर्ने कार्य भएको जानकारी डाक्टर सर्वोत्तम श्रेष्ठले दिएका छन्। स्वास्थ्य जाँचको अलावा निःशुल्क औषधि आवश्यकता अनुसार वितरण गर्ने कार्य भएको डाक्टर श्रेष्ठले वताएका छन्।

बृहत निःशुल्क स्वास्थ्य शिविरको समापन समारोहमा त्यसको सफलताका लागि सहयोग गर्ने चिकित्सक, नर्स, औषधी व्यवसायी, वडाको स्वास्थ्य कार्यान्वयन समिति महापाल र धौैगलका स्वास्थ्य सेवक, व्यवस्थापन सहयोगी युवा स्वयंसेवक र सञ्चारकर्मीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियोे ।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरका उपाध्यक्ष प्रशान्त माली र केन्द्रिय महासचिव सुनील महर्जनले पनि स्थानिय तह सरकार संचालन ऎन २०७४ को मर्म अनुरूप १६ वडाले गरेका कार्यक्रमहरु प्रशंसनीय र अनुसरणयोग्य रहेको बताएका छन्।

कार्यक्रममा वडा सदस्य एवं ललितपुर महानगरपालिकाका कार्यपालिका सदस्य सुप्रभा शाक्यले स्वागत भाषण गर्दै शिविरको सफलताको लागि विभिन्न पक्षहरुसंगै स्वास्थ्य स्वयं सेवक महिलाहरुको ज्ञान, अनुभव र सक्रियता पनि निकै महत्वपूर्ण भएको धारणा राखेकी थिइन्।

प्रकाशन मिति–२०७७ साल फागुन २२ गते शनिवार ।