काठमाडौं। बेलायतका ख्यातिप्राप्त नेपाली साहित्यकार ईश्वर मानन्धरको कथामा चलचित्र निर्माण हुने भएको छ। चलचित्रको नाम नै कैदीको–पत्र रहेको छ। स्वर्गवासी साहित्यकार ईश्वर मानन्धरको कथा–संग्रह कैदीको–पत्रवाट प्रमुख कथा कैदीको–पत्र नामवाटै चलचित्र बन्न लागेको हो।

भिजन संसारको प्रस्तुतिमा अग्रज रंगकर्मी तथा अभिनेता सनम कुमार बैरागको निर्देशनमा चलचित्र कैदीको–पत्र निर्माण हुन गैरहेको हो। चलचित्र कैदीको–पत्र यो बर्षको अप्रिल महिनावाट बेलायतवाटै बन्ने र केही दृश्यको छायाँकन भने नेपालमा हुने भएको निर्देशक सनम कुमार बैरागले भिजन संसार डटकमलाई बताएका छन्।

कृतिमा आधारित चलचित्र भएको कारण यस चलचित्रलाई व्यापक न्याय दिने पक्षमा आफू गहन रुपमा लागिरहेको र कृति अनुरुप पटकथालाई ढाल्ने कार्य पनि निर्देशक बैरागवाटै भैरहेको छ। सन् २००२ सालमा नेपाली साहित्य विकास प्रतिष्ठान युकेको आयोजनामा सेक्सपियरको जन्मथलो भ्रमणका क्रममा साहित्यकार ईश्वर मानन्धरसंग बैरागको भेटघाट भएको थियो। पहिलो भेटको चिनोको रुपमा साहित्यकार मानन्धरले आफूव्दारा लिखित दुई कृति बैरागलाई उपहार दिएका थिए।

ती दुई कृतिमध्येको एक कैदीको–पत्र कथा संग्रह पनि हो। यो कथा संग्रह पढेपछि आफ्नो मनलाई छोएको र यसलाई चलचित्र बनाउन अनुमति पनि माग्दा साहित्यकार मानन्धरले सहर्ष अनुमति दिएको थियो। लिखित रुपमा नै अनुमति चाहिने भएमा घरैमा आएर लिन आउनु भनेको त्यो बेलाको पललाई सम्झदै निर्देशक बैरागले आफूले समयमा जान नपाएको दुःखेसो पनि गरे।

र पछि फोन गर्दा विसन्चो भएर हस्पिटलाइज भएको खवर पाएपछि सन्चो भएपछि घरैमा भेट गर्न जान्छु भन्दा–भन्दै भेट नै नभइकन साहित्यकार मानन्धरको स्वर्गवास भएको पल निर्देशक बैरागलाई अत्यन्त पीडा तथा नरमाइलो पल बन्यो। यो कुरा बैरागलाई सधैं खट्किरह्यो।

अन्ततःसाहित्यकार ईश्वर मानन्धरको एकमात्र छोरा विनोद मानन्धरवाट चलचित्र कैदीको–पत्र निर्माण गर्न लिखित अनुमति पत्र प्राप्त भएपछि बैराग चलचित्र कैदीको–पत्र निर्माण गर्न कम्मर कसेका हुन्। यस चलचित्रको गीत, पटकथा, संवाद र निर्देशनको जिम्मेवारी आफ्नो काँधमा बोकेर यसै चलचित्र निर्माणको पूर्वतयारीमा आफू अहोरात्र खटिरहेको पनि बैरागले भिजन संसार डटकमलाई बताएका छन्।

निर्देशक बैरागले गत तीन वर्ष देखि लगातार क्रमशः समय दृश्य, जीगिषा र भीमसेन थापा जस्ता सफल नाटकको लेखन तथा निर्देशन गरेर बेलायतको रंगमञ्चको क्षेत्रमा इतिहास रचिसकेका छन्। नेपाल छदा स्वयम्भू को आँखा, बाउको बिहे, सम्भब असम्भब, यथार्थ यात्रा, जंगबहादुर जस्ता टेलिफिल्म र भिडियो चलचित्र श्रद्धान्जलीका पटकथाकार तथा सम्बाद लेखक तथा अभिनेता भएर कार्य गरिसकेका छन्।

त्यसको अलावा बैरागले ईतिहासको पाना पल्टी सकेको छ, विश्वको अधुरो उपन्यास, कालो रगत, पिपल बोट, ईन्कलाब, सत्यानास, जीगिषा, जी टीभी कि एम टिभि, पश्चाताप, बौधिसत्व, बरालिएका पाईलाहरू, तीन तिंया नौ जस्ता थुप्रै नेपाली नाटकको लेखन तथा निर्देशन गरिसकेका छन्। चलचित्र कैदीको–पत्र स्वर्गवासी साहित्यकार ईश्वर मानन्धरलाई समर्पित चलचित्रको रुपमा नै निर्माण हुने पनि निर्देशक बैरागले भनेका छन्।
प्रकाशन मिति–२०७५ साल पुस २६ गते विहीवार ।