काठमाडौं। हाल अमेरिकामा रहेका बेलायतका पूर्व राजकुमार दम्पत्तिलाई पुत्रीलाभ भएको छ। बेलायती राजपदवी छोडी अमेरिका बसिरहेका पूर्वराजकुमार ह्यारी दम्पत्तिलाई पुत्रीलाभ भएको हो।

ह्यारीकी पत्नी मेघन मार्कलबाट शुक्रबार पुत्रीलाभ भएको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ। क्यालिफोर्नियास्थित एक अस्पतालमा मेघनले छोरीलाई जन्म दिएकी हुन् । छोरीको नाम लिली राखिएको छ। यो बेलायती महारानीको उपनाम समेत हो । तर, छोरीको पूरा नाम भने लिलिबेट डायना माउन्टब्याटन विन्डसर हुने भएको छ । ह्यारीकी आमाको नाम डायना हो ।

समाचारमा जनाइए अनुसार आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य छ । यो दम्पत्तिको पहिलो सन्तान पुत्र छन् । लिली अमेरिकामा जन्मिएसँगै अब उनले अमेरिकाको जन्मसिद्ध नागरिकता समेत पाउने छिन् । यसले उनलाई अमेरिकाकी राष्ट्रपति सम्मको ढोका खोल्ने छ । त्यसो त मेघन अमेरिकी नागरिक हुन् ।

बकिङहम दरबारले समेत सबैभन्दा कान्छो सन्तानको जन्म भएसँगै खुसीयाली मनाएको खबर छ । यो खबरले महारानीसहित राजपरिवारका सबै सदस्य खुसी भएको  प्रतिक्रिया सार्वजनिक भएको छ ।

प्रकाशन मिति–२०७८ साल जेठ २४ गते सोमवार ।