काठमाडौ। बेलायतको लागि नव–नियुक्त नेपाली राजदूत दुर्गावहादुर सुवेदी कार्यभार सम्हाल्न बुधवार राति लण्डन पुगेका छन्। नेपालवाट बेलायतका लागि नेपाली राजदूतको रुपमा २० औं राजदूत बनेर बेलायत पुगेका सुवेदीलाई लण्डन विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवाहक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए।

durga-bahadur-chhetry-dubashu-in-londonझन्डै तीन दशक परराष्ट्र सेवामा बिताएका सुवेदीले यसअघि नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसन एवं बहराइनमा कार्यवहाक राजदूतको भूमिका निर्वाह गरिसकेका छन्।

बेलायतस्थित लिड्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमए र त्रिभुवन विश्वविद्यालयबाट नेपालको परराष्ट्र र कुटनीति विषयमा विद्यावारिधी गरेका उनी साहित्यमा दुबसु क्षेत्रीका नामले चिनिन्छन् । उनले ‘अश्वमेध यज्ञका घोडाहरु’ कवितासंग्रह, ‘कोलाज मन’ गजलसंग्रह, ‘तिमीले छोडेका यादहरु’, ‘मुटु चोर्ने आँखाहरु’, र ‘चुपचाप चुपचाप’ गीतिसंग्रह लेखेका छन् ।

यसबाहेक सुवेदीले ‘समसामयिक नेपाली गजल’, ‘समकालीन नेपाली कविता’, ‘प्रतिनिधि नेपाली गजल’, ‘समकालीन नेपाली कविताको रुपयात्रा’, ‘म्यान्माली नेपाली कविता’ र ‘मानवअधिकारका लागि नेपाली कविता’ लगायत एक दर्जन बढि साहित्य ग्रन्थको सम्पादन पनि गरेका छन्।
प्रकाशन मिति–२०७३ साल असोज १३ गते विहीवार ।