–कोमल मल्ल
काठमाडौं। कवि समूह नेपाल र गोङ्गबु साहित्य समाज गोङगबुद्वारा कवि समूह नेपालको वार्षिक उत्सव तथा २०६औँ भानु जयन्ती मनाएको छ। यस अवसरमा नेपाली भाषा साहित्य क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउनेहरुलाई नगद पुरस्कार र प्रशंसापत्रद्वारा सम्मान अर्पण गरिएको थियो।

काठमाडौंको गोगंबुस्थित लुनार इन्टरनेशनल बोर्डिङ स्कुलको समारोह हलमा आयोजित समारोहमा नगद १५ हजारको दोश्रो डायोस्पोरा साहित्य पुरस्कार बेलायतका वरिष्ठ साहित्यकार सुरेश जङ्ग शाहलाई प्रदान गरिएको छ। बेलायतमा सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूके को स्थापना गरी नेपाली भाषा साहित्यको प्रचार प्रसार र विकासमा झन्डै तीन दशक समय देखि अनवरतरूपमा लागिपरिरहेका वरिष्ठ साहित्यकार सुरेश जङ्ग शाहले कविता सङ्ग्रह, कथा सङ्ग्रह, नाटक सङ्ग्रह, उपन्यास, जीवनी सङ्ग्रह ,संस्थागत इतिहास दस्तावेज र गीत एल्बम् आदि डेढ् दर्जन जति मौलिक कृतिहरू प्रकाशित गर्नुका साथै नेपाली साहित्य विकास परिषद् यूकेको संस्थापक तथा निवर्तमान अध्यक्ष र वेलायतमा सन् १९९२ देखि विभिन्न समयमा सगरमाथा टाइम्स, यती पत्र, कोसेली, लण्डन पोष्ट र लालीगुराँस साहित्यक पत्रिका तथा म्यागेजिन लगायतका पत्रपत्रिकाहरूको प्रधान सम्पादक रही डायसपोरामा नेपाली भाषा साहित्यको संरक्षण र संवर्धनमा अत्यन्त महत्वपूर्ण योगदान पुर्याए बापत प्रदान गरिएको हो।

यसैगरी उक्त समारोहमा पुरस्कृत हुनुहुने अन्य व्यक्तित्हरूमा वरिष्ठ कवि,चलचित्र निर्देशक ,मुक्तककार तथा साहित्यकार यादव खरेललाई पचासौ बर्ष नेपाली साहित्यको सेवा गरे बापत,नेपाली साहित्य विकास परिषद् यूके का सहअध्यक्ष कवि डा. गोपाल पौड्याल “मण्डने”लाई बेलायतमा गएर १९९२ मा बेलायतको लण्डन बाट हस्तलिखित पत्रिका सगरमाथा टाइम्स प्रकाशन गरी डायोस्पोरामा ब्यबसायिक नेपाली पत्रकारिताको थालनी गरे बाफत, कवि सूर्य लाकोजुलाई अक्षरमार्ग मासिक प्रकाशन तथा नेपाली साहित्यको श्रीबृद्धी गर्न अनबरत रुपमा लागि परे बाफत, कवि तथा गीतकार बसन्तराज श्रेष्ठ, स्वास्थ तथा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मी, साहित्यकार श्रीमती सीता बिष्ट कार्कीलाई नेपाली भाषा साहित्यको विभिन्न बिधामा कलम चलाएर भाषा साहित्यको श्रीबृद्विमा निरन्तर लागे बापत तथा भर्खरै राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा प्रथम भएकी गोर्खाकी गायिका बबिता बानिया जेरि तथा सिन्धुपाल्चोकका लोक दोहोरी गायक प्रदीप रोक्कालाई नेपाली लोक भाका तथा काठे भाका लगायतका धेरै लोक भाकाको उत्थान गरे बापत विशेष सम्मान गरियो।

उक्त भब्य समारोहमा विभिन्न कवि कबियत्रीहरुबाट रचना वाचन गरिएको थियो भने बबिता बानिया ,जेरि प्रदिप रोक्का र लुनार स्कुलका प्रिन्सिपलले दोहोरी गीत गाएर माहौल तताएका थिए। यसैगरी विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, खेलाडी, कलाकार, पत्रकार, मिडियाकर्मी, साहित्यप्रेमी र साहित्य सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो। प्रमुख अतिथि कवि मुकुन्द शरण उपाध्यायले राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको समुत्घाटन गरेका थिए भने कबि समूह नेपाल तथा गोङ्गबु साहित्य समाजकाअध्यक्षद्वयले तथा उपस्थित संपूर्णले पालैपालो आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फूलमाला चढाएर भावपूर्ण श्रद्धा सुमन अर्पण गरेका थिए।

नेपाली राष्ट्रिय गान बाट शुरु भएको उक्त कार्यक्रममा तारा केसीले स्वागत मन्तब्य दिएकी थिइन् । गोङ्गबु साहित्य समाजका अध्यक्ष द्वारिका कुइकेलको अध्यक्षतामा सम्पन्न उक्त समारोह संपन्न भएको थियो। कार्यक्रमको सन्चालन कार्यक्रम संचालक कुष्णदेव रिमाल र कान्ति शिखा धितालले गरेका थिए।


प्रकाशन मिति–२०७६ साल साउन ७ गते मंगलवार ।