लण्डन। बेलायतकी महारानी एलिजावेथ व्दितियले पनि कोभिड खोप लगाएकी छन्। ९४ वर्षीया महारानी र महारानीका ९९ वर्षका पति प्रिन्स फिलिपले शनिबार कोभिड खोपको पहिलो डोज लिएको बकिङहम प्यालेसले जनाएको छ।

बेलायतमा कोभिडविरुद्धको खोप गत महिनादेखि नै वितरण शुरु गरिएपनि महारानी र प्रिन्स फिलिपले आफ्नो पालो पर्खिएरै खोप लगाएका हुन् । खोपका लागि बेलायत सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार ८० वर्षमाथिको उमेर समूहको पालोमा उनीहरुले खोप लिएका हुन्।

सामन्यतः बेलायतमा राजापरिवारका सदस्यहरुको स्वास्थ्य अवस्थाबारे कुनै सूचना सार्वजनिक गर्ने प्रचलन छैन । तर कोभिड खोपका विषयमा सर्वसाधारणमा कुनै आशंका र अन्योल बाँकी नरहोस् भन्ने उद्धेश्यले महारानी आफैले खोप लगाएको सूचना सार्वजनिक गर्न चाहेको बकिङहम प्यालेसले जनाएको छ।
प्रकाशन मिति–२०७७ साल पुस २६ गते आइतवार ।