काठमाडौं। स्वर्गिय कुलबीर थापा बेलायत सरकारको उच्च सम्मानित पदक भिक्टोरिया क्रस पाउने पहिलो परमबीर नेपालीको विषयमा कथानक चलचित्र गोर्खाः बिनिथ द ब्रेभरी’ बनेको छ। जसको ट्रेलर सार्वजनिक भएको छ। चलचित्र गोर्खाः बिनिथ द ब्रेभरी’को रेडकार्पेट शो यही हप्ताको शनिवार लण्डनको प्रिन्सेस हलमा हुने भएको छ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा वनेको चलचित्र गोर्खाः बिनिथ द ब्रेभरी’ मा समीर गुरुङले भीसी कुलवीर थापाको भूमिका निर्वाह गरेका छन्। माया अर्थात भीसीपत्नीको भूमिकामा गौमाया गुरुङ छिन् । त्यसैगरी, ओली बासी, सूर्य गुरुङ, राजन गुरुङ, अगोस्टिनो, रोबिन, चार्ली, ज्याक, लीलगायतले युद्ध मोर्चामा प्रत्यक्ष लडेका सेनाको भूमिका निभाएका छन् । सगरमाथा युथ यूके र वानआरजीआरको समेत अभिनयमा साथ छ।

कुलबीर थापाको कथा
पश्चिम नेपालको पाल्पामा जन्मिएका कुलबीर थापाले २६ बर्षको उमेरमा नै भिक्टोरिया क्रस अर्थात बेलायती भीसी पाएका थिए। भारतीय सेनामा कार्यरत थापा लुजको युद्धको सुरुमा २५ अप्रिल १९१५ मा उनी फ्रान्समा तैनाथ थिए।

उनको सैनिक टोलीमाथि विपक्षी जर्मन सैनिकहरूले गोलाबारी गर्दा लड्दै थापा जर्मन नियन्त्रित क्षेत्रमा पुगिसकेका रहेछन् । उनी सामान्य घाइते पनि थिए । उनले बेलायतको लेस्टरसायर रेजिमेन्टको दोस्रो बटालियनका गम्भीर घाइते एक सैनिकलाई भेट्टाएका थिए।

ती सैनिकले आफ्नो पर्वाह नगरी आफ्नो ज्यान जोगाउन थापालाई सुझाए तर थापा दुस्मनको क्षेत्रमा उनीसँगै एक रात, एक दिन बसे। सेप्टेम्बर २६ का दिन एकाबिहानै उनले जर्मनहरूले लगाएको तारबार नाघेर ती घाइते सैनिकलाई ल्याएर राखे।

त्यसपछि फेरि दुस्मनको नियन्त्रणमा रहेको इलाकाभित्र पसेर उनले दुईजना घाइते गोर्खा सैनिकलाई पालैपालो सुरक्षित स्थानमा ल्याए । फेरि गएर घाइते ब्रिटिस सैनिकलाई पनि दिउँसो उज्यालामै उनले सुरक्षित स्थानमा ल्याए।

यही बहादुरीका लागि बेलायतको बकिङघम राजदरबारमा आयोजित समारोहमा ब्रिटिस नरेश किंग जर्ज पाँचौंले कुलबीर थापालाई ‘भिक्टोरिया क्रस’ प्रदान गरेका थिए। सन् १८८९ डिसेम्बर १५ का दिन पाल्पामा जन्मिएका यिनै भीसी विजेता थापा चलचित्र पर्दामा देखिने भएका छन् ।

https://www.facebook.com/gurkhabeneaththebravery

https://www.princeshall.com/event/123401/gurkha-beneath-the-bravery?fbclid=IwAR3vmy66puc-R_AzHJTROFPnIo5sK_mK7kKsRsCsx-D9Ht-57yvRnTg7eEQ

प्रकाशन मिति–२०७८ साल कात्तिक ४ गते विहीवार ।