लण्डन। बेलायतमा नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेद्वारा विविध कार्यक्रम सहित भव्यताका साथ आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती मनाएको छ। वयस्ट लन्डन, एक्टन स्थित ए बि आइ कलेजमा आयोजित समारोहमा भानु जयन्ती मनाएको हो।

उक्त समारोहमा प्रमुख आतिथ्यता परिषदका पदेन संरक्षक तथा वरिष्ठ साहित्यकार तथा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीको रहेको थियो। राजदूत सुवेदीले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गरे। सुवेदीले हामी जहाँरहे पनि मातृभूमिको माया र आमाको वात्सल्य आफ्नो मुटू संगै जोडिएको हुन्छ र त्यसैमा उभिएर पहिचान बनाउनु पर्ने बताए।

अर्का विशिष्ट वक्ता परिषदका वरिष्ठ सल्लाहकार वुद्धिजीवी समाजसेवी यती संस्थाका पूर्व अध्यक्ष डा.राघव प्रसाद धितालले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तिय रामायणले उतिखेरको समाजमा बलियो भूमिका खेलेको चर्चा गरे।

सभापतिको आसनबाट वोल्दै परिषदका अध्यक्ष कोमल मल्लले नेपाली साहित्य विकाष परिषद यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको खुलासा गरे। अध्यक्ष मल्लले नेपाली पहिचान युगयुग सम्म जीवन्त राख्न हाम्रो भाषा साहित्य संस्कृति जस्ता चिनारीहरू जोगाउदै लैजानु पर्ने औचित्य तर्फ पनि प्रकाश पारेका थिए।

समारोहमा यसअघि वोल्दै परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, पूर्वअध्यक्ष सल्लाहकार तथा बीबीसी नेपाली सेवाका पूर्व संचालक खगेन्द्र नेपाली, पूर्वअध्यक्ष सल्लाहकार हरि सिंह थापा, पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष पत्रकार नरेश खापाङ्गी, परिषदका सहअध्यक्ष गोकुल भण्डारी, उपाध्यक्ष डा.सुधा श्रेष्ठ र ब्लाइण्ड रक्स फिल्मका निर्माता निकेस लिम्बु लगायतका वक्ताहरूले आदिकवि भानुभक्त र नेपाली साहित्यको बारेमा चर्चा गरेका थिए।

समारोहमा ब्लाइण्ड रक्स चलचित्रका तर्फबाट उक्त फिल्मका निर्माता निकेस लिम्बू र ज्ञानेन्द्र राउतद्वारा प्रमुख अतिथि राजदूत डा.दुर्गा बहादुर सुवेदीलाई उनको प्रेरणामूलक योगदानका लागि कदर धातुपत्रद्वारा सम्मान अर्पण गरिएको थियो। यस अघि ब्लाइण्ड रक्सका एसोसिएट तथा नेपाली साहित्य विकाष परिषदका पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउतले राजदूत डा. दुर्गा बहादुर सुवेदीको व्यक्तित्व र योगदान बारे प्रकाश पारेका थिए।

आरम्भमा परिषदका पूर्वअध्यक्ष कवि हरि सिँह थापाद्वारा भानुभक्तिय रामायणका श्लोक वाचन र कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापाद्वारा मंगल धुन वादनसंगै प्रमुख अतिथि तथा अतिथिहरूद्वारा आदिकवि भानुको तस्विरमा माल्यार्पण गरिएको थियो।

साहित्य र संगितको समिश्रण रहेको उक्त समारोहमा वरिष्ठ कलाकार मदन थापाले आदिकवि भानुभक्तका सृजनाहरूलाई संगितवद्ध गरी ब्लुज गायन रोचक ढङ्गले प्रस्तुत गरेका थिए भने कोसेली नेपाली सांस्कृतिक परिवारकी अध्यक्ष गायिका शर्मिला सिँहले सुमधुर गीतहरू गाएका थिए।

दोस्रो चरणको कविता वाचन कार्यक्रममा वेलायतका बिभिन्न भागहरूबाट आएका ११ जना कविहरूले आआफ्ना रचनाहरू वाचन गरेका थिए। यसरी वाचन गर्ने कवि कवयतृहरूमा कल्पना आङ्गबुहाङ, डा.संगीता श्रेष्ठ (श्वेच्छा) , डा.सुधा श्रेष्ठ, मनोज अन्जान, गोकुल भण्डारी, मदन थापा, हरि सिँह थापा, खगेन्द्र नेपाली, कोमल मल्ल र सुरेश जंग शाह आदि थिए।

परिषदका अध्यक्ष कोमल मल्लको सभापतित्व, सहअध्यक्ष गोकुल भण्डारीको स्वागत मन्तवय र उपाध्यक्ष तथा कार्यवाहक महासचिव डा.सुधा श्रेष्ठ र ज्ञानेन्द्र राउतलको संचालनमा सम्पन्न भएको समारोहमा रमाइलो जलपान तथा धन्यवाद ज्ञापन गरिएको थियो।

समारोहलाई सफल बनाउन आर्थिक भौतिक सहयोग पुराउनुहुनेहरूमा वरिष्ठ सल्लाहकार समाजसेवी डा.राघव प्रसाद धिताल, चलाचित्र बलाइण्ड रक्स निर्माता निकास लिम्बू, एसोसिएट ज्ञानेन्द्र राउत, परिषदकी उपाध्यक्ष डा.सुघा श्रेष्ठ र सल्लाहाकार एवम् ए बि आइ कलेजका प्रोप्राइर डाइरेक्टर कृष्ण भट्ट थिए।
प्रकाशन मिति–२०७५ साल असार २५ गते सोमवार ।