काठमाडौं। बेलायतमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन जनावरमा सफल भएसँगै मानिसहरुमा पनि यसको प्रयोग गर्ने भएको छ। बीबीसीले जनाएअनुसार, बेलायतले ३०० मानिसहरूलाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन लगाइदिने भएको छ।

लण्डनको इम्पेरियल कलेजमा ३०० मानिसहरूमा यो खोप परीक्षण गर्न लागिएको हो। प्राध्यापक रोबिन सटोकले यो परीक्षणको नेतृत्व गर्दैछन्। जनावरमाथि गरिएको परीक्षणमा यो भ्याक्सिन सफल रहेको र प्रतिरोधात्मक क्षमता वृद्धिमा सहयोग पुग्ने देखिएको बीबीसीमा उल्लेख छ।

बेलायत यतिखेर कोरोना भाइरसविरुद्धको औषधी आविष्कार र पहिचानमा निरन्तर लागिरहेको छ। केहीअघि अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूले दम र बाथको समस्या निदानमा प्रयोग गरिने डेक्सामेथासोन नामक औषधी कोरोना संक्रमितको उपचारमा लाभदायी हुने पुष्टि गरेका थिए।

विश्वका १२० स्थानमा कोरोनाविरुद्धको भ्याक्सिन बनाउन प्रयास भइरहेको छ। यी मध्ये १३ स्थानमा परीक्षणको तहमा पुगिसकेको छ। चीनमा पाँच, अमेरिकामा तीन, बेलायतमा दुई, अस्ट्रेलिया, रुस र जर्मनीका एक–एक स्थानमा तयार गरिएको खोप परीक्षणको तहमा पुगेको हो।
प्रकाशन मिति–२०७७ साल असार ११ गते विहीवार ।