लण्डन। नेपाल र भारतमा गाईको पिसाव अर्थात गौमुत्रलाई पवित्र मान्ने गरेको छ। गौमुत्रलाई नेपाल र भारतमा पवित्रताको रुपमा हरेक पवित्र कार्यमा प्रयोग गर्ने गरिन्छ। कही कतै चोख्याउनु परेमा गौमुत्र छर्कने पुरानो हिन्दू परम्परा हो। त्यो परम्परा नेपाल र भारत वाहेक अरु मुलुकमा पनि देखिदै आएको छ। केही बर्षयता बेलायतमा पनि गौमुत्रको प्रयोग र विक्री पनि हुंदै आएको पाइएको छ।

लण्डनको कतिपय पसलमा गौमूत्र बट्टा तथा प्याकिङमा विक्री गर्न थालेको पाइएको छ। वेटफोर्डस्थित भक्ति वेदान्त म्यानर र हरेकृष्ण मन्दिर वरपरवाट गौमुत्रको विक्री हुने गरेको खुल्न आएको छ। गौमुत्र किन्न त्यहाँ नेपाली तथा भारतीयहरुको भीड नै लाग्ने गरेको छ। हरेकृष्ण मन्दिर अगाडिको एक डेरी फर्ममा गौमुत्रको उत्पादन हुने गरेको छ।

मन्दिरका प्रवन्ध निर्देशक गौरी दासले ७० को दशकदेखि आफूहरुले गौमूत्रको विक्री गर्दैआएको बताएका छन्। मानिसहरुले गौमूत्रलाई धार्मिक कार्यमा प्रयोग नगरिकन औषधिको रुपमा समेत प्रयोग गर्ने गरेको गौरी दासले भनेका छन्।

ब्रिटेनको फूड स्टेण्डर्स एजेन्सीका एक प्रवक्ताका अनुसार बेलायतमा गौमूत्र मानव उपभोगका लागि बेचविखन गर्न प्रतिवन्धित छ। तर, कसैले गौमूत्रलाई छालाका लागि प्रयोग गर्छ भने, त्यसको लागि छुट दिएको छ। यही कडा कानूनका कारण पसलमा राखिएको गौमूत्र भरिएको प्याक वा बोतलमा  स्पष्टै रुपमा यो गौमूत्र हो र यसको प्रयोग धार्मिक प्रयोजनका लागि मात्र हुन्छ भनेर लेखिएको पाइन्छ।

मन्दिरका गौरी दासले पनि मानव उपभोगका लागि आफूहरुले गौमूत्र विक्री गर्ने नगरेको बताएका छन्। धार्मिक कार्यको लागि मात्र विक्री वितरण गर्ने गरेको भनेका छन्।
(बीबीसीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल कात्तिक २२ गते विहीवार ।