लण्डन। केही समययता बेलायतमा छुरा प्रहारका घटनाले व्यापकता पाउन थालेको छ। जसको कारण यसले राष्ट्रिय राजनीतिसमेत तरंगित बनेको छ। प्रहरी कटौतीका कारण छुरा अपराध बढेको भन्दै प्रधानमन्त्री टेरेजा मेमाथि चौतर्फी दवाव थोपरिएको छ। यस मुद्दामा बेलायती सेनाले समेत चासो देखाएको छ।

प्रधानमन्त्री मेले छुरा अपराधबारे छलफल गर्न मन्त्रीहरु, समुदायका नेता, पीडित आदि सरोकारवालासँग छिट्टै आफ्नो कार्यालयमा सम्मेलन गर्ने भएकी छन् ।

बेलायती रक्षामन्त्री ग्याभिन विलियमसन्ले बेलायतमा चक्कु प्रहारबाट खासगरी किशोर, किशोरीको ज्यान लिने घटनाहरु नियन्त्रण गर्न सघाउन सेना तयार रहेको बताएका छन् । बेलायती संसदमा प्रश्नोत्तरमा बोल्दै मन्त्री विलियमसन्ले सरकारको कुनै पनि निकायलाई सघाउन रक्षा मन्त्रालय तयार रहेको बताएका हुन् ।

बेलायती गृह मन्त्रालयले रक्षा मन्त्रालयसँग अझै औपचारिकरुपमा सहयोग मागेको छैन् तर मेट्रोपोलिटन प्रहरीकी प्रमुख क्रेसिडा डिकले छुरा प्रहारका बढ्दो घटनासँग जुध्न सेनाको सहयोगका लागि आफू इच्छुक रहेको बताएकी थिइन् । यो वर्ष दुई महिनायता लण्डनमा छुरा प्रहारका घटनामा २१ जनाको ज्यान गइसकेको छ जसमध्ये अधिकांश किशोर, किशोरी छन् ।

गत बुधबारमात्र पूर्वी लन्डनको लेटनमा एक युवामाथि छुरा प्रहार भएको थियो । गत फेब्रुअरीमा प्रकाशित एक तथ्यांकमा गत वर्ष इंग्ल्यान्ड र वेल्समा छुरा प्रहारबाट २८५ जनाले ज्यान गुमाएका उल्लेख छ जुन सन् १९४६ यताकै सबैभन्दा उच्च हो ।

यसैवीच लेबर पार्टीका शीर्षस्थ सदस्यहरु, लन्डन मेयर सादिक खान र स्याडो पुलिसिङ मिनिस्टर लुइज हेगले प्रधानमन्त्री मेलाई पत्र लेखी युवाबीच बढिरहेको हिंसासँग जुध्न १० हजार नयाँ प्रहरी अधिकृत माग गरेको बीबीसीले जनाएको छ ।
प्रकाशन मिति–२०७५ साल फागुन २६ गते आइतवार ।