लण्डन। बेलायतमा नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा नेपालबाट बेलायत आएका वरिष्ठ साहित्यकारहरू प्रा.डा.तुलसी दिवस र प्रा.डा. गोविन्दराज भट्टराईलाई अभिनन्दन सम्मान गरेको छ।

विगत चार दशक भन्दा बढी समयदेखि अनवरतरूपमा नेपाली भाषा साहित्यको क्षेत्रमा आफ्ना जीवनका अमूल्य समय दिदै नेपाली साहित्यको विश्वब्यापी विकास र संचार गराउन दिवस र भट्टराईको महत्वपूर्ण योगदानको उच्चतम कदरस्वरूप बेलायतमा अभिन्नदन् सम्मान् गरिएको हो।

बेलायतको एेतिहासिक शहर केन्टबरी स्थित केन्टबरी चर्च युनिभर्सिटीमा सम्पन्न दोस्रो विश्व साहित्य सम्मेलन समारोहमा अभिनन्दन सम्मान प्रदान गरिएको हो। परिषदका संरक्षक प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले सुशोभन सहित अभिनन्दन प्रदान गरेका हुन्। यसअघि परिषद्का अध्यक्ष कोमल मल्लले उक्त अभिनन्दन सम्मान स्तुति वाचन गरेका थिए।

समारोहमा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला, पूर्व राजदूत प्रा.नवलकिश्वर राई, गीतकार भावेश भूमरी, शिला सेरिगड लगायत अतिथि साहित्यकारहरूमा परिषदका संस्थापक सुरेश जंग शाह,अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, पूर्वअध्यक्ष हरिसिँह थापा, सल्लाहकार घन बहादुर थापा,उपाध्यक्ष डा.सुधा श्रेष्ठ, महासचिव वीरेन्द्र कुँवर, कोषाध्यक्ष मनोज अन्जान, कार्यकारिणी सदस्य डम्बर सिँह र कल्पना आङ्बुहाङ आदि पदाधिकारीहरूले स्वागत, सम्मान तथा उपहार प्रदान गरेका थिए।


प्रकाशन मिति–२०७५ साल भदौ २ गते शनिवार ।