लण्डन । तीस बर्षयताकै सवैभन्दा शक्तिशाली मानिएको इयुनिस आँधीका कारण बेलायतको जनजीवन अत्यन्त प्रभावित वनेको छ। ९० देखि १ सय माइल प्रतिघण्टाको दरमा आएको ‘इयुनिस’ आँधीको कारण बेलायतको जनजीवन प्रभावित बनेको हो ।

यो आँधीलाई लक्षित गरी बेलायत सरकारले देशका विभिन्न भागमा उच्च सतर्कताको लागि अपिलसहित ‘रेड अलर्ट’ जारी गरेको छ। बीबीसीका अनुसार लण्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौं क्षेत्र र वेल्समा ‘रेड अलर्ट’ जारी गरिएको छ। सरकारले अति आवश्यक परेको खण्डमाबाहेक घरबाहिर ननिस्किन र अनावश्यक यात्राहरुलाई कटौती गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

‘इयुनिस’ आँधी बेलायतमा पछिल्लो तीस वर्षमा आएको सबैभन्दा शक्तिशाली ठानिएको छ । आँधीका कारण देशभरमा थुप्रै उडान, ट्रेन रद्ध भएका छन् भने सयौं स्कुल बन्द भएका छन् । तीव्र गतिमा बहेको हावाका कारण कतिपय स्थानमा रुख र बिजुलीका खम्बाहरु ढलेका, सडकमा गाडी पल्टिएका लगायतका तस्विरहरु अहिले विभिन्न मिडियामा प्रकाशित भएका छन्। आँधीकै कारण बेलायतका कयौं स्थानमा अहिले बिजुली समेत अवरुद्ध भएको जनाइएको छ ।

साउथ वेष्ट इङल्यान्डको उत्तरी सामुद्रिक भाग र साउथ वेल्समा पनि बेग्लै रेड वार्निङ दिइएको छ । उता स्कटल्यान्डमा हिमपातले १५० वटा विधालय बन्द गरिएका छन् ।

प्रकाशन मिति–२०७८ साल फागुन ६ गते शुक्रवार ।