लण्डन। बेलायतमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा सहज रुपमा जित हासिल गरेको छ। गएराति भएको तेस्रो अभ्यास खेलमा नेपालले इस्ट लन्डन–११ लाई २२३ रनको फराकिलो अन्तरमा पराजित गरेको हो।

नेपालले दिएको ३३९ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन–११ ले ३८ ओभर ५ बलमा सबै विकेट गुमाँउदा ११५ रनमात्रै जोड्न सक्यो। सन्यास घोषणा गरिसकेका नेपालका शक्ति गौचनले ४ विकेट लिंदा करण केसी र ललित भण्डारीले समान २/२ विकेट झारे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अनिल कुमार साहको शतकीय इनिङ्समा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको थियो। नेपालका लागि अनिलले ११८ बलमा १९ चौका र ३ छक्काको मद्दतमा १ सय ३१ रन बनाए। यसैगरी शरद भेषावाकरले ९८ रन जोडे।

कुनै समय ५८ रन जोड्दा तीन विकेट गुमाइसकेको नेपालका लागि अनिल र शरदले चौथो विकेटको लागि २१२ रनको साझेदारी गर्दै उच्च योगफल तयार पारे।

इंग्ल्याण्डको लर्डसमा त्रिकोणात्मक सिरिज र नेदरल्यान्डविरुद्ध ऐतिहासिक एक दिवसीय क्रिकेट खेल्न युरोप पुगेको नेपालले यतिबेला बेलायतमा अभ्यास खेल खेलिरहेको छ।
प्रकाशन मिति–२०७५ साल साउन १० गते विहीवार ।