लण्डन। बेलायतमा नेपाली लोकदोहरी गायकको रुपमा ख्याति कमाउंदै आएका गायक बद्री केसीले आत्महत्या गरेका छन्। लण्डनस्थित निवास नजिकको रुखमा झुण्डिएर गायक केसीले शनिवार आत्महत्या गरेको खुल्न आएको छ। यससंवन्धमा लण्डन प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ।

लण्डन प्रहरीका अनुसार, आफ्ना साथी, परिवार र संसारलाई ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस लेखेका ३२ वर्षीय केसीको शव लण्डनको एजवेरस्थित उनी आफैले काम गर्ने स्कुल हातामा रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएको थियो।
आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसासमेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ। आत्महत्याको कारण स्पष्ट भइसकेको छैन।

पश्चिम नेपालको पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए। केही वर्षअघि नेपाल फर्किएका उनीपछि फेरि बेलायत आएका हुन्। लण्डनको एजवेरस्थित मिल हिल स्कुलमा क्याटरिंग सुपरभाइजरको रुपमा कार्यरत केसी बेलायतका नेपालीमाझ लोकदोहोरी गायकका रुपमा चिनिन्थे। गाउन र नाँच्न दुवैमा सीपालु उनले यहाँको निरमाया रोधीघरमा झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए। बेलायतका कयौं ठाउँमा आयोजना हुने कार्यक्रममा समेत उनले प्रस्तुति दिने गरेका थिए।
प्रकाशन मिति–२०७७ साल पुस २६ गते आइतवार ।