लण्डन । बेलायतमा नेपाली समुदायका चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा.चन्द्र लक्सम्बाको दुःखद निधन भएको छ। बेलायतको फार्नबरोस्थित फ्रेमली पार्क अस्पतालमा उपचारकै क्रममा मंगलबार डा.लक्सम्बाको दुःखद निधन भएको हो।

५९ वर्षीय डा. लक्सम्बालाई कोभिड संक्रमण भएकै बेला स्ट्रोक (मस्तिस्कघात)भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। पुख्र्यौली घर ताप्लेजुङ भएपनि नेपालमा उनको बसोबास धरानमा थियो। बेलायतमा अल्डरसटनजिक फ्रेमलीमा बस्दै आएका उनका श्रीमती र दुई छोरा छन्।

पछिल्लो समय डा.लक्सम्बा नेपालस्थित ओपन युनिभर्सिटीमा प्राध्यापकका रुपमा कार्यरत थिए। बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा रिसर्च फेलोका रुपमा समेत काम गरेका उनी स्टडिज फर नेपाल ‘सिएनएस’ यूकेका पूर्व अध्यक्ष थिए। बेलायतमा नेपालीको जनगणना गर्नमा उनको उल्लेख्य योगदान थियो

बेलायती सेनामा १९ वर्ष सेवा गरेका डा.लक्सम्बाले यहाँको सरे युनिभर्सिटीबाट पिएचडी गरेका थिए। एनआरएनए यूकेमा अशोक श्रेष्ठको पालामा उनी कार्यसमितिका उपाध्यक्ष थिए। बेलायत तथा नेपालमा बौद्धिक छवि बनाएका उनले भूतपूर्व गोर्खा आन्दोलन एवम् एनआरएनए अभियानमा पनि निरन्तर योगदान गर्दै आएका थिए। केही समयअघि मात्रै उनलाई नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविधालयमा प्राज्ञका रुपमा मनोनित गरेको थियो।
प्रकाशन मिति–२०७७ साल माघ १३ गते मंगलवार ।