लण्डन। बेलायतमा नेपालको मौलिक पर्व म्हःपूजा मनाउने कार्य गरेर त्यसलाई निरन्तरता दिदै आएको नेवार समुदायको अग्रणी संस्था पासा पुचः गुठी युके लण्डनले बडा दशैंको अवसरमा नयाँ इतिहास रच्न सफल भएको छ।

अस्ति शनिवार आश्विन २७ गतेका दिन लण्डनमा छरिएर रहेका ७० भन्दा बढी संस्कृतिप्रेमी नेपालीहरूका माझ गुठीले पहिलो पटक दशैं अर्थात नेवारहरुको मोहनी नखः मनाएको छ।

दशैं पर्वको अवधिमा नेवार समुदायमा मनाइने मोहनि नखःको विशिष्ट स्थान रहँदैआएको छ। नेपालीहरूको बाक्लो बसोबास रहेको लण्डनको अल्पर्टन शहरमा आयोजित सो कार्यक्रममा गुठीका सह–अध्यक्षद्वय मेनका श्रेष्ठ र रुक्मणी मानन्धरले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

२ वर्षको बालक देखि ७० वर्षीया वृद्धा समेतको उपस्थिति रहेको सो कार्यक्रममा सह–सचीव अनिल महर्जनले कार्यक्रमको बारेमा जानकारी दिएका थिए भने महासचिव सन्दीप श्रेष्ठ र खेलकुद सचिव सुमित बज्राचार्यले नेपालभाषा र खसभाषा नेपालीमा गीत-संगीतले मनोरंजन प्रदान गरेका थिए।

गुठीका अध्यक्ष संयुक्त श्रेष्ठले बेलायतका नेपाली घरपरिवारमा हुर्किरहेका बालबालिकाहरूले आफ्नो संस्कृतिका बारे ज्ञान पाउनुपर्ने उल्लेख गर्दै यसै सन्दर्भमा संचारकर्मी सुरजवीर बज्राचार्यद्वारा रचित् धालःजितः नेवाःगीत गाएर पनि सुनाएका थिए।

कार्यक्रममा सहभागीहरूले पातको लपतय् मा नेवाः भोजको आनन्द लिएका थिए भने लण्डन स्थित मःमः एण्ड रोटी ब्राण्डका बिनोद बराल र नरेश शर्माको सह–आयोजनामा विभिन्न परिकारहरूको तयारी गरिएको थियो।

सो कार्यक्रमको व्यापक सफलता पछि यही आउँदो नोवेम्बरको १३ तारीख आइतबारका दिन गुठीले अर्को महत्वपूर्ण चाड म्हःपूजाको आयोजना लण्डनको ओकिंगटन म्यानर स्कुल, वेम्ब्लीमा करीब ३०० जनाको उपस्थितिमा गर्ने भएको छ।
प्रकाशन मिति–२०७५ साल असोज ३१ गते बुधवार ।