लण्डन। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले तीनदिने बेलायत भ्रमणका क्रममा मंगलबार समकक्षी बेलायतकी प्रधानमन्त्री टेरेजा मेसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भएको करिब आधा घण्टा लामो भेटमा दुई देशबीच सम्बन्ध सुदृढबारे छलफल भएको थियो। बेलायती प्रधानमन्त्री मेले राजीनामा दिइसकेकाले नेपालका प्रधानमन्त्रीको १७ वर्षपछिको बेलायत भ्रमणमा कुनै पनि किसिमको सम्झौता हुन सकेन। 


प्रधानमन्त्री ओलीले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिको व्याख्या गर्दै राजनीतिक संक्रमणपछि नेपाल आर्थिक विकासमा केन्द्रित रहेको बताएका थिए। ओलीले नेपालको विकास प्रयासमा अझ बृहत्तर सहयोग गर्न बेलायतसँग आग्रह गरेका थिए। विकासका साथै प्राकृतिक विपत्ति जस्तै भूकम्पका बेला बेलायतको सहयोगप्रति आभार व्यक्त गरेका थिए।

बेलायती समकक्षी मेले परिवर्तनका लागि नेपाललाई बधाई दिँदै बेलायतको सधैँ दृढ समर्थन र ऐक्यबद्धता रहेको विश्वास दिलाएकी थिइन्। दुवै मुलुक राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्य भएका नाताले मानवअधिकारका विषयमा समेत छलफल भएको थियो। प्रधानमन्त्री ओलीले गोर्खा समस्याबारे कुरा उठाएका थिए। ओलीले नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सन्धि पुनरावलोकन गरी गोर्खा सरोकारलाई गम्भीरतापूर्वक सम्बोधन गर्न मेलाई ध्यानाकर्षण गराएका थिए। गोर्खाहरू बेलायत–नेपाल सम्बन्धको अत्यन्त महत्त्वपूर्ण कडी भएकाले उनीहरूको समस्याबारे छलफल गरेर अगाडि बढ्ने आश्वासन मेले ओलीलाई दिएकी थिइन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल जेठ २८ गते मंगलवार ।