लण्डन। बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको छ। बिहीबार भएको आमनिर्वाचनमा सो पार्टीले ३२ बर्षमा सवैभन्दा बढीसिट जितेर बहुमत ल्याएको हो।

बिबिसीका अनुसार, चुनाव भएका ६ सय ४२ सिटमध्ये प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले ३५८ सिट जितिसकेको छ। उसले अझै केही सिट जित्ने बताइएको छ। बहुमतका लागि ३२६ सिट भए पुग्छ।

अक्टोबर ३१ सम्म बेलायतलाई युरोपियन युनियन इयूबाट बाहिर निकाल्ने वाचा गरेर प्रधानमन्त्री बनेका जोन्सनले उक्त योजनामा सफलता नपाएपछि चुनाव घोषणा गरेका थिए। चुनावबाट कन्जरभेटिभ पार्टीलाई ३२ वर्षमै सबैभन्दा बढी सिट हात परेको छ।

यता प्रतिपक्षी लेबर पार्टीले भने २०३ सिटमात्र हात पारेको छ। आफ्नो परम्परागत प्रभाव क्षेत्रमा पनि हार व्यहोरेको लेबर पार्टीले यसपालि ८५ वर्षकै सबैभन्दा कम सिट पाएको हो। आफ्नो पक्षमा स्पष्ट बहुमत आएपछि प्रधानमन्त्री जोन्सनले बेलायतलाई इयूबाट बाहिरिने स्पष्ट जनादेश प्राप्त भएको बताएका छन्।
प्रकाशन मिति–२०७६ साल मंसिर २७ गते शुक्रवार ।