लण्डन। कोरोनाभाइरस (कोभिड–१९) को महामारी संक्रमण बेलायतमा कम हुंदैगएपछि बेलायतको लकडाउन अझ धेरै खुकुलो बनाएको छ। करिब तीन महिनादेखि बन्द रहेका बेलायतका पब, रेस्टुरेन्ट र होटलहरू शनिबारदेखि सञ्चालनमा आएपछि बेलायतको लकडाउन अझ खुकुलो बनेको हो।

त्यसैगरी सैलुन, सिनेमा हललगायत व्यवसाय सञ्चालन गर्न बेलायत सरकारले अनुमति दिइएको छ। शनिबारदेखि नै दुई घरका मानिसहरू आउटडोर, इन्डोर भेटघाट गर्न र रात बस्नसमेत पाउने नियम ल्याइएको छ। ३० जनासम्मको जमघटमा बिहे समारोह र प्रार्थना अनि पूजा गर्ने ठाउँहरू पनि खुलेका छन्।

आउटडोर जिम, बालबालिकाका खेल मैदान, पुस्तकालय, कम्युनिटी सेन्टर, बिंगो हल, संग्रहालय, फन फेयर, थिम पार्क, सोसियल क्लब आदि पनि खुला भएका छन्। लेस्टरमा भने संक्रमण बढेका कारण त्यस क्षेत्रमा पूर्ण लकडाउन गरिएको छ।

पब, रेस्टुरेन्टमा एक मिटरभन्दा बढी सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका नियम भने अनिवार्य गरिएको छ। बेलायतका करिब ३७ हजार ५ सय पबमध्ये २८ हजार पब सरकारको निर्देशिकाअनुसार कम्तीमा एक मिटरको दूरी कायम गर्दै सेवा दिन सक्षम रहेका ब्रिटिस बियर एन्ड पब्स् एसोसिएसनले जनाएको छ।

सरकारका वैज्ञानिक सल्लाहकारहरूले भने लकडाउन खुकुलो पारिनुको अर्थ जोखिम हटिसकेको भन्ने नभएको बताएका छन्। बेलायतमा कोभिड–१९ का कारण शुक्रबार पनि १३७ जनाको मृत्यु भएको छ। हालसम्म मर्नेको संख्या ४४ हजार १ सय ३१ पुगेको छ । संक्रमित संख्या करिब दुई लाख ८५ हजार छ।


प्रकाशन मिति–२०७७ साल असार २२ गते सोमवार ।