काठमाडौं। नेपालमा इन्द्रजात्राको बेलामा नाचिने गरेको लाखे नाचलाई बेलायतमा पनि यतिखेर निक्कै लोकप्रिय रहेको छ। नेपालको गौरब तथा शानको रुपमा विश्वप्रसिद्ध लाखे नाच बेलायतमा नाचिन थालेको पनि यो बर्षवाट २० बर्ष पुगिसकेको छ।

बेलायतमा विशेष गरेर नेपाल विशेष पर्व तथा सन्दर्भको बेलामा लाखे नाच नाचिने गरेको छ। यसरी लाखे नाच नाच्ने बेलायतका ख्यातिप्राप्त नेपाली कलाकार विनोद चिपालु हुन्। कलाकार चिपालुले बेलायतमा लाखे नाच नाच्न थालेको २० बर्ष पुगिसकेको छ।

सन् २००० सालमा नेपालवाट कलाकार चिपालु बेलायत पुगेपछि नेपालमा इन्द्रजात्राको बेलामा नाचिदैआएको लाखे नाच बेलायतमा नाच्न शुरु गरेर बेलायतमा लाखे नाचका प्रवद्र्धक रुपमा कलाकार चिपालु चिनिएका हुन्।

बेलायतमा लाखे नाच नाच्न थालेको २० बर्ष पुगेको अवसर पारेर कलाकार चिपालुले नेपाली नृत्यमा विशिष्ट योगदान दिने नृत्यका कलाकारलाई उचित नगद सहितको सम्मान प्रदान गर्ने भएका छन्। एक महिला तथा एक पुरुष गरेर दुई नृत्यका विशिष्ट कलाकारलाई सम्मान प्रदान गर्नका लागि व्यापक पहल तथा कार्यक्रम गर्नका लागि कलाकार चिपालु यही आउने फरवरी महिनाको दोश्रो हप्तातिर नेपाल आउने भएका छन्।

आगामी डिसेम्बर महिनाभित्र दुई नृत्यका विशिष्ट नृत्यका कलाकारलाई घनिभूत छलफल गरेर उनीहरुको योगदानको कदर स्वरुप सम्मान गर्ने योजना कलाकार चिपालुले राखेका छन्। बेलायतवाट भिजन संसार डटकमसंगको कुराकानीमा नृत्यका कलाकारहरुको योगदानको यथोचित सम्मान गर्ने दिलैदेखिको चाहनाले यो कार्यक्रम व्यक्तिगत रुपमा नै भएपनि शुरुवात गर्न लागेको पनि कलाकार चिपालुले भनेका छन्।

विगत २० बर्षदेखि बेलायतमा लाखे नाच नाँच्दैआएका कलाकार चिपालु नेपाल र नेपालीको मौलिक लाखे नाचलाई बेलायतमा पनि जोगाइरहने कार्य आफूवाट भएको र बाँचुञ्जेल गरिरहने भिजन संसारसंगको कुराकानीमा भनेका छन्। सानै उमेरदेखि लाखे नाच प्रतिको चासोले नै लाखे नाचका कलाकार बनेको र लाखे नाच कसैसंग नसिकेको बताउंदै चिपालुले प्रत्येक बर्ष इन्द्रजात्रामा नाचिने लाखे नाच हेरेको भरमा सिकेको बताएका छन्।

बेलायतमा अत्यन्त व्यस्तताका बाबजुद पनि बर्षमा विभिन्न समय–सन्दर्भमा नाच्ने कार्यमा निरन्तरता दिदैआएको भन्छन्।बेलायतमा नेपाली कलाकारितालाई उच्च शिखरमा पुर्याउंदै आएका कलाकार विनोद चिपालुको बेग्लै पहिचान रहेको छ। यहाँ हुने विविध सांस्कृतिक कार्यक्रमहरुमा लाखे नाच नाचेर बेलायतमा नामी बनेका कलाकार चिपालु नेपालमा रहंदा पनि विभिन्न चलचित्र तथा रंगमञ्चका उम्दा कलाकार मानिएको छ।

यिनै कलाकार चिपालु बेलायत आएको पनि १९ बर्ष वितिसकेको छ। यस अवधिमा बेलायत तथा नेपालमा धेरै उतार–चढाव भैसकेको छ। परिवर्तनका अनेक रुप देखिसकेका छन्। तथापि, चिपालुले बेलायतमा आफ्नै खाले बेग्लै पहिचान राखेर अगाडि बढिरहेकाछन्। कलाकारितालाई यतिखेर बेलायतमा शौखको विषय बनाउंदै आएका चिपालु आफ्नो व्यवसायमा आफै रमाइरहेका छन्।

कसैसंग तुलना नगरिकन अगाडि बढेका कलाकार चिपालुको लण्डनको प्लमस्ट्रीटमा मिल्सा स्टोर रहेको छ। चिपालु मिल्सा स्टोरमा अत्यन्त व्यस्त बन्ने गरेका छन्। ताजा विभिन्न मासुजन्य पद्धार्थ पाइने मिल्सा स्टोर लण्डनकै अब्बल स्टोरको रुपमा गनिन्छ। जर्मन, क्यानाडा देखि विभिन्न जनावरका मासु ताजा नै मिल्सा स्टोरमा आउने गरेको छ।

विशेषत लण्डनमा खसी नपाइने भएकोले खसीको मासु महंगो मानिन्छ। बेलायतीहरु खसीको मासुको अलावा मृगको मासुलाई अत्यन्त रुचाउंने गर्छन्। खसी, राँगा, मृग, कुखुरा, हाँस लगायतका पशुपन्छीका ताजा मासुको लागि मिल्सा स्टोर पुग्ने बेलायती तथा नेपालीहरुको कुनै कमी छैन्। यो एक प्रकारको कलाकार चिपालुको व्यापार–व्यवसायको बैभव हुन पुगेको छ।

छोरीको नामवाट मिल्सा स्टोर स्थापना गरेको बताउने चिपालुको बेलायत आएपछि नै दुवै छोरा–छोरीको जन्म भएको हो। हाल ती दुवै छोरा–छोरी पनि हुर्किसकेका छन्। पत्नी सविना कलाकार चिपालुको सफलताको अर्को रहस्य हो। सविनाको साथ र सहयोगले बेलायतमा जम्न सफलता पाएको कलाकार चिपालु सगौरब घोषणा गर्छन्।

बेलायत आएको केही बर्षपछि नै बेलायतको ग्रीन–कार्ड पाएका प्रतिभावान कलाकार चिपालुको पहिलो प्राथमिकता व्यापार बनेको छ। त्यसपछि मात्र कलाकारिता बन्ने गरेको छ। यसो भएतापनि कुनै बेला जतिसुकै व्यस्तता बनेको अवस्थामा पनि समय मिलाएर कलाकारितामा रम्ने चिपालु जिन्दगीलाई अनुभव भन्छन्। अनुभव नै जिन्दगी हो भन्ने चिपालु आफ्नो जिन्दगीवाट आफै रमाएर बाँच्नु पर्दछ भनेर भन्छन्।

प्रकाशन मिति–२०७५ साल पुस ३० गते सोमवार ।